अछाम- मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ।
स्थानीय पिरम कुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन्।
उनले राति १२ बजेपछि एक्कासी उठेर आफ्नै घरमा सुतिरहेका ससुरा र ठूलोबुबालाई एकाएक चिर्पटले प्रहार गरेका थिए। मृतक ससुरा छोरीको घरमा गएका बेला उक्त घटना घटेको हो। आक्रमण गर्ने क्रममा उनकै श्रीमतीले छुट्याउन जाँदा श्रीमतीलाई समेत कुटपिट गर्न थालेपछि उनी भागेर ज्यान बचाउन सफल भएकी छिन्।
अहिले घटनास्थलमा अछाम जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। फरार पिरम कुमारको खोजीकार्य र घटनाको मुचुल्का उठाउने काम भइरहेको छ।
पिरम कुमार बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।