काठमाडौं– मानव अधिकार आयोगले चिसोको सर्वसाधारणको मृत्यु भएका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ– शीतलहर, हिमपात तथा चिसोका कारण हुम्ला, जाजरकोट, सप्तरी, सिराहा, रौतहट, कपिलवस्तु लगायतका जिल्लामा दुई दर्जन बढी व्यक्तिको ज्यान गएको अनुगमनबाट पाइएको छ।
उसले लामो समयदेखि त्रिपालमा बस्दै आएका बाढी पीडित तथा भूकम्प पीडितहरु, मुसहर बस्तीका बासिन्दाहरु एवम् न्यून आयस्रोत भएका समुदायका बालबालिका, जेष्ठनागरिक, सुत्केरी एवम् विरामी व्यक्तिहरु उच्च जोखिममा रहेको अनुगमनबाट देखिएको बताएको छ।
'शीतलहर र चिसोबाट सम्भावित जोखिमलाई न्यूनीकरण गर्दै थप जनजीवन प्रभावित हुन नदिनेतर्फ सचेत रहन, प्रभावित क्षेत्रहरुमा पर्याप्त औषधी र स्वास्थ्यकर्मीको व्यवस्था गर्न, स्वास्थ्यकर्मीहरुको विशेष टोली परिचालन गर्न तथा शीतलहर एवम् हिमपातबाट प्रभावितहरुलाई आवश्यक राहत सामग्री एवम् न्यानोको व्यवस्था गरी नागरिकको मानव अधिकारको संरक्षण गर्न आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।', विज्ञप्तीमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।