काठमाडौं- भारतबाट आयात हुँदै आएका तरकारी र फलफूलको विषादी परीक्षण नगर्ने सरकारको निर्णय सत्तारुढ दलकै जनवर्गीय संगठनले विरोध गरेको छ।
वरिष्ठ नेता बामदेव गौतम नेतृत्वको अखिल नेपाल किसान महासंघले विज्ञप्ति जारी गर्दै उपभोक्ताको अधिकार रक्षा गर्न माग गरेको हो।
भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णय भएको र त्यसका विरुद्ध भारतीय राजदूतावासद्वारा सो निर्णय रोक्न चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकूटनीतिक तरिकाले नेपाल सरकारलाई पत्रचार गरेकोप्रति किसान महासंघले ध्यानाकर्षण भएको बताएको हो।
सोमबार बसेको स्थायी समितिको बैठकपछि जारी विज्ञप्तिमा दूतावासबाट जारी भएको पत्र र भाषा गैरकुटनीतिक भएको ठहर समेत गरेको छ।
भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताले कुनै पनि फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्रहरु पेश नगरेका कारणले हामीसंग भएको द्रुत विषादी मापन यन्त्रबाट परीक्षण गर्न आरम्भ गर्नु परेकोले त्यसलाई जारी राख्न माग गरेको छ।
आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा भएको महासंघको निष्कर्ष छ। भारतीय राजदूतावासले पत्रचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गतेपछि हट्ने कार्य त्रुटिपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ।
‘यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीति लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।