काठमाडौं– असार ३१ गते आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र पोखरेलले जानकारी दिए। ३ः१५ मा ग्रहणको मध्यकाल हुनेछ। ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए।
उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास छ। यी दुई राशीले ग्रहण हेर्नु हुँदैन। यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशी हुनेले पनि ग्रहण हेर्नु नहुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।
कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न हुन्छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।
ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ। ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।