अवार्डमा सहभागी नहुने घोषणा गरेका दीपकराजको नाम कसरी आयो नेसनल अवार्डको नाच्ने सूचीमा?

नाच्ने त परको कुरा म अवार्डमा सहभागी हुन पनि जाँदिनँ : दीपकराज
नेपाल लाइभ | २०७६ असार २४ मंगलबार | Tuesday, July 09, 2019 १८:०८:०० मा प्रकाशित

काठमाडौं- चलचित्र विकास बोर्डले सोमबार एउटा विज्ञप्ति जारी गर्‍यो– तीन वर्षदेखि नबाँडिएको नेसनल फिल्म अवार्ड असार २७ मा एकैपल्ट बाँडिने घोषणासहित। 

विज्ञप्तिमा त्यतिमात्रै थिएन, सँगसँगै अवार्ड समारोहका लागि भव्य नृत्य प्रस्तुतिको तयारी भइरहेको जानकारी पनि थियो। अवार्ड कार्यक्रममा नाच्ने कलाकारहरुको सूचीमा धेरै पुराना–नयाँ कलाकारको नाम थियो। 

तीमध्ये एक नाम थियो, हास्यअभिनेता दिपकराज गिरीको। जबकि नेपालमा आयोजना हुने फिल्म अवार्ड बढी विवादित र प्रायोजित हुन थालेपछि उनले दुई वर्षअघि नै नेपालमा आयोजना हुने कुनै पनि किसिमको फिल्म अवार्डमा सहभागी नहुने घोषणा गरेका थिए। 

‘पछिल्लो समय अवार्ड कार्यक्रममा जानु र कार्यक्रमलाई बीचमै छाड्नुलाई धेरै साथीहरूले म अवार्डको लोभी भएको, आफूले नै अवार्ड पाउनुपर्ने मान्यता भएको व्यक्ति रहेको रूपमा व्याख्या गरेको थाहा भयो। जबकि मिलेमतो र आफ्ना प्रियजनलाई बाँडिने त्यस्ता अवार्डको विरोध मात्रै थियो त्यो,’ दीपकराजले त्यतिबेला फेसबुक स्ट्याटसमा लेखेका थिए, ‘आजदेखि कुनै पनि अवार्ड समारोहमा सहभागी नभई निरन्तर चलचित्र निर्माणमा मात्रै ध्यान दिने व्यक्तिगत निर्णय गरेको जानकारी गराउँछु।’

सोमबार अचानक चलचित्र विकास बोर्डको विज्ञप्तिको नाच्ने सूचीमा उनै दीपकराजको नाम देखियो।

के दीपकराज आफ्नो घोषणाबाट पछि हटेका हुन्?

हाम्रो जिज्ञासामा उनले भने, ‘म मेरो निर्णयबाट पछि हटेको छैन। नाच्ने त परको कुरा म अवार्डमा सहभागी हुन पनि जाँदिन।’ 

यो पनि- तीन वर्षको नेसनल फिल्म अवार्ड एकैपल्ट बाँडिने, यसपालिदेखि थपियो नगद पुरस्कार

त्यसोभए कसरी आयो त विज्ञप्तिमा उनको नाम? 

‘उहाँहरुको दीपाजी (निरौला) सँग कुरा भएको रहेछ। टिम नै आउने भन्ने बुझेर मेरो नाम पनि राख्नुभयो होला। त्यो विकास बोर्डको त्रुटि हो,’ उनले भने। 

विज्ञप्तिमा बोर्डका चलचित्र संग्राहलय, सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंको हस्ताक्षर छ।

यस विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईसँग जिज्ञासा राख्दा उनले भने, ‘खोइ, दिपाजीको टिम आउँछ भनेका थिए। त्यसैले साथीहरुले प्रेस रिलिजमा दिपकजीको नाम पनि हाल्दिएछन्।’