काठमाडौं– रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण छिट्टै सुरु हुने भएको छ।
बालगोपालेश्वर मन्दिर, मन्दिरमा जाने पुल र पोखरी वरिपरीको बगैंचा पुनर्निर्माणका लागि मंगलबार पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सिए/तुलसी कन्स्ट्रक्सन जेभीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र निर्माण कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरे।
पुनर्निर्माणका लागि सम्झौता रकम १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ छ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता हुनुलाई सुखद् पक्ष भन्दै प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण गरिनुपर्ने बताए।
उनले उपभोक्ता समितिमार्फत् रानीपोखरीको पुनर्निर्माण भइरहेकाले अब बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण पनि द्रुत गतिमा सँगसँगै अघि बढेको बताए।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपर्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए।
त्यसैगरी, सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्माले निर्धारित समयअघि नै निर्माण कम्पनीले बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न गर्नेमा आफू विस्वस्त रहेको बताए।
रानीपोखरी उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले पनि निर्माण व्यवसायी र आफूहरूबीच एकअर्कालाई सहयोग गरेर समन्वयात्मक रुपमा पुनर्निर्माणको काम गर्ने धारणा राखे।
हाल उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिपरीको क्षेत्रमा पर्खाल लगाउने कार्य भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।