काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्र लिएका छन्।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र प्रदान गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र दिइएको छ।
त्यसैगरी विभागले भोली (बुधबार) राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ। विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीलाई सो परिचय पत्र वितरण गरिएको र बुधबार राष्ट्रपतिलाई वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए।
आगामी दुई वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।
संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरुलाई सरकारी सेवामा लिने आधारको रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई सरकारले सो काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने कार्यादेश दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।