काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरका छन्।
सांसद बडुले सरकारी सेवामा काम गर्ने महिला कर्मचारीको पीडा सम्बोधन गर्न पनि सरकारले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापना ढिलो गर्न नहुने पनि स्पष्ट पारे।
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भाग लिँदै 'संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सांसद बडूले कर्मचारीलाई ट्रेड युनियनको अधिकारबाट बन्चित गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराएका थिए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले कर्मचारीहरुको सेवा र सुविधा उपलब्ध गराउने समितिमा नेतृत्व कर्मचारी संगठनलाई दिने व्यवस्था नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए।
न्यायको दृष्टिकोणले पनि कर्मचारीको सेवा, सुविधा दिने समितिको नेतृत्वको उनीहरुलाई दिन नमिल्ने उनको तर्क थियो। सांसद रावलले कर्मचारीलाई अझै जवाफदेही बनाउने गरी कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरे।
विधेयकमा कर्मचारीहरुको सेवा, सुविधा उपलब्ध गराउने व्यवस्था गर्न एक समिति गठन गर्ने प्रस्ताव गरिएको छ। तर त्यसको नेतृत्व कर्मचारी संगठनलाई दिनु न्यायका दृष्टिले पनि उपयुक्त नहुने सांसद रावलको तर्क छ।
*फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।