काठमाडौं– पर्यटन विभागले हिमाल आरोहणमा प्रतिबन्ध लगाउने तथा केही समयमा लागि रोक्ने भन्ने विषय हल्ला मात्रै भएको जनाएको छ।
विभागले एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आरोहणका लागि खुल्ला गरेका सगरमाथालगायतका ४ सय १४ हिमालहरु मध्ये कुनै पनि हिमालमा आरोहणका लागि प्रतिबन्ध लगाउने निर्णय नभएको स्पष्ट पारेको छ। केही सयम आरोहण कार्य रोक्ने सम्बन्धमा कुनै छलफल नभएको विभागले जनाएको छ।
केही दिन अगाडि मात्रै सरकारले हिमाल आरोहण केही समयका लागि रोक्ने तयारी गरेको भन्दै केही सञ्चारमाध्यममा आएका समाचारमा कुनै सत्यता नभएको विभागले स्पष्ट पारेको छ।
विभागले सन् २०१८ को वसन्तकालिन मौसम सम्पन्न भइसकेको र यस वर्षको अन्य मौसममा हुने पर्वतारोहणसम्बन्धी कार्यहरु के कसरी व्यवस्थित गर्न सकिन्छ भनेर अध्ययन अघि बढाएको समेत विज्ञप्तिमा उल्लेख गरेको छ।
कुनै पनि हिमालहरुमा आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने विषय वा केही सयम आरोहण कार्य रोक्ने सम्बन्धमा कुनै पनि प्रस्ताव नआएको र अपौचारिक छलफल समेत नभएको विभागको भनाइ छ। (तस्बिर- निर्मल पुर्जा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।