तानसेन- पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ। यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ। सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ। यसअघि १ हजार २ सय किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य ऊर्जाबाट विद्युत सेवा दिने गरी काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए।
यसअघि रुक्सेभज्याङको बजारक्षेत्र र वडा नम्बर ४ को वडा कार्यालयमा विद्युत सेवा पुगेकामा अब स्थानीय तीन गाउँका करीब १ सय ८० घरधुरीलाई सेवा दिने लक्ष्य रहेको वायु तथा सौर्य ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २ करोड, गाउँपालिकाको ४२ लाख, स्थानीय बासिन्दाको जनश्रमदान गरी करीब तीन करोड रुपैयाँको लागतमा २५ किलोवाट क्षमताको विद्युत सेवा उपलब्ध गराउने तयारी भएको अध्यक्ष सुनारीको भनाइ छ।
अहिले हावाबाट विद्युत उत्पादनका लागि पाँच र दश किलोवाट क्षमताका पङ्खा जडान गरिएको छ। विद्युतगृह निर्माण, पोल तथा तार विस्तारको काम तथा घरघरमा ‘वाइरिङ’को काम सकिएको र अब ब्याट्री जडानको काम मात्र बाँकी रहेको समितिले जनाएको छ।
हावा र सौर्यशक्तिबाट बाह्रै महिना ब्याट्री चार्ज हुने भएकाले विद्युत कटौती हुने समस्या पनि कम हुने गाउँपालिकाले जनाएको छ। यसअघि हावाबाट विद्युत सेवा हावादारी कुराजस्तो ठानिए पनि सेवाप्रवाह राम्रो भएको स्थानीयवासी सन्तवीर सुनारीले बताए।
मित्यालमा पुनः सेवा थप हुने र डाँडाभेगका स्थानीयवासी उज्यालोमा जीवनयापन गर्न पाउने भएपछि यहाँका बासिन्दा खुसी भएका छन्। पाल्पा सदरमुकामबाट करीब ७० किलोमिटर पूर्व विकट भेग मित्यालमा विद्युत सेवा नपुगेर अँध्यारोमा बसेका स्थानीयवासी असार मसान्तभित्र हावा र सौर्य ऊर्जाबाट बिजुली बल्छ भन्नेमा ढुक्क छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।