काठमाडौं- जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै २ जनालाई १२/१२ वर्ष कैद फैसला गरेको छ। अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय 'थम्मन' भनिने गुरुप्रसाद पुनलाई १२/१२ वर्षको कैद फैसला सुनाएको हो।
उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै कैद र पीडितलाई दुवैबाट ५०/५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ। विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए। फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो।
आचार्यलाई सफाइ
यस्तै अदालते घोराही उपमहानगरपालिका–१५ का ऋषिराज आचार्यलाई बलात्कार मुद्दामा सफाइ दिएको छ।
पुर्पक्षका लागि कारागार चलान भएका आचार्यलाई निर्दोष रहेको भन्दै न्यायाधीश हरिप्रसाद शर्मा उपाध्याय पङ्ज्ञानीको इजलासले सफाइ दिएको हो। घरमा काम गर्न राखेकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको भनी मुद्दा परेपछि प्रहरीले आचार्यलाई पक्राउ गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।