सिन्धुपाल्चोक- बाह्रबिसेदेखि ओमपार्क सडकको शिलान्यास गरिएपछि बाह्रबिसे, ठोट्ने, रातामाटे र ओमपार्क क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ।
बाह्रबिसे–८ का ७२ वर्षीय रंगलाल तिमल्सेना गाउँमै कालोपत्रे सडक बन्ने भएपछि हर्षित देखिन्थे। बाह्रबिसेबाट दैनिक दुई घन्टा हिँडेर सामान ओसारपसार गर्दै आएका रंगलालले गाउँमै कालोपत्रे सडक पुग्न लागेपछि अब दुःखका दिन जाने कल्पना गरेका छन्।
'बाटो नखुलेको बेला बाह्रबिसेबाट नुन, तेल, मरमसला बोकेर उकालो चढ्नुपर्थ्यो', विगत सम्झिँदै उनले खुसी पोखे, 'कालोपत्रे सडकका लागि मन्त्रीज्यूले उद्घाटन गर्नुभयो।'
सोही गाउँकी ५० वर्षीय बच्चुदेवी तिमल्सेनाले पनि खुसी हुँदै सुनाइन्, 'हाम्रा पालामा तीन घन्टा हिँडेर पढ्न जानुपरेको थियो, अब सडक आएपछि बसमा राखेर नातिनातिना पढाउन पाइने भयो।'
कुल १४.२ किलोमिटरको उक्त सडक ३३ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको हो। सडक निर्माणको जिम्मा पाएको जोइन्ट भेन्चर (लुम्बिनी, बन्धक भगवती, ड्रागन) कम्पनीले निर्माणमा कुनै व्यवधान नआए तोकिएको समयभन्दा चाँडो निर्माण सम्पन्न गर्ने जनाएको छ।
सोही क्षेत्रका निवर्तमान सांसद एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा उक्त सडकखण्डमा रकम विनियोजन गरिएको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।