काठमाडौं- उमेरले तीन दशक नाघेका सर्लाही ब्रम्हपुरी नगरपालिका-३ का सोमन खेतबारीमै काम गरेर जीविकोपार्जन गर्दै थिए।
कहिल्यै वैदेशिक रोजगारीको अनुभव नसमेटेका सोमनलाई एक पटक वैदेशिक रोजगारीको यात्रामा निस्कन मन लाग्यो।
४ जना छोराछोरीका बुबा बनिसकेका सोमनलाई खेतबारीमा काम गरेभन्दा विदेशमा राम्रो कमाई हुन्छ भन्ने विश्वास थियो।
आफूमाथि छोराछोरीको जिम्मेवारी थपिएसँगै परदेश गएर कमाएर ल्याउन पाए अर्कै खुसीको संसारमा रमाउन पाइन्थ्यो कि, उनले सोचे। मीठो सोच बनाएर सर्लाहीबाट काठमाडौं छिरेका उनी गोंगबु पुगे।
चिनजानका साथीसँगै उनी काठमाडौंस्थित कोसमस नेपाल ह्युम्यान रिसोर्सेस प्रालि पुगे। त्यहाँ उनलाई साउदीको राम्रो सुपरमार्केटमा सेल्सम्यानको माग आएको सुनाइयो। सोमन निकै खुसी भए, काम पनि सजिलो हुने, कमाई पनि साउदी रियाल मासिक १ हजारसहित ओभरटाइम सुविधा र खानबस्न समेत कम्पनीबाट नै दिइने सुनाइयो।
‘सोमन मख्ख परे। अब साउदीमा राम्रो कमाई गरेर फर्कन्छु, ओभरटाइम सुविधा पनि रैछ, राम्रो कमाई गरेर फर्कन्छु,’सोमनले सपना बुनिसकेका थिए। सोही अनुसार उनले ऋण लिए। १ लाख ४० हजार म्यानपावर कम्पनीलाई बुझाए।
१३ सेप्टेम्बर २०१५ मा सोमन साउदी उडे।
साउदीको राजधानी रियाद सहर देखे उनले। हेर्दा ठिकठिकै थियो। सोमनलाई लागि रहेको थियो, ‘मैले काम गर्ने सुपरमार्केट यहिँ कतै सहरमा होला, सुपरमार्केटमा बसेर सेल्सम्यानको काम गर्नपनि कठिन हुँदैन।’ तर उनलाई साउदीको राजधानी रियादमा रोकिएन, त्यहाँबाट करिब ३ सय ३५ किलोमिटर टाढा जंगल पुर्याइयो।
जंगलमा के थियो काम?
जंगल निकै घना र डरलाग्दो थियो। सुनसान पनि थियो। यसअघि सोमनले देखेकै थिएनन् यस्तो जंगल। पुग्ने बित्तिकै उनलाई डर लाग्यो। सोमन हिन्दी बोल्न जान्दछन्। अरबी भाषा केही बुझ्छन् पनि। उनका अनुसार भाषाको उनलाई खासै समस्या परेन त्यहाँ।
उनलाई जंगलको बीचमा मजरा (कृषि फर्म)मा काम लगाइयो। भेडा, ऊँट चराउने, ट्याक्टर चलाउने, देखि लिएर थुप्रै काम गर्नुपर्यो सोमनले। २ वर्षको करार अवधिका लागि साउदी पुगेका उनलाई रोजगारदाताले नेपाल फर्कन दिएन।
करारनामा पत्रमा कृषिकाम भएपनि किन झुक्याइयो सोमनलाई?
सोमनले हस्ताक्षर गरेको करारनामा पत्रमा नै कृषि वर्कर भनेर लेखिएको छ। कृषि वर्कर भनेर लेखिएको करारनामा पत्रमा हस्ताक्षर गरेका सोमनले किन थाहा पाएनन् त आफू कृषि वर्करमा जाँदैछु भन्ने कुरा। म्यानपावरले सुपरमाकेर्टको सेल्सम्यानमा काम भनेर झुक्याउँदा समेत किन विश्वासमा परे सोमन? वैदेशिक रोजगारीका नाममा यसरी नै थुप्रै युवाहरु समस्यामा पर्दै आएका छन्।

जसलाई सामान्य लेखपढ गर्न समेत आउँदैन यस्ता युवाहरुलाई करारनामा पत्रमा एउटा काममा हस्ताक्षर गराएर अर्कै काम सुनाइन्छ।
‘पढ्न आएन, के गर्ने, म्यानपावरले जे भन्यो त्यही कुरामा विश्वास गरेर हिडेँ,’ सोमन भन्छन्। म्यानपावर तथा एजेन्टहरुले निरक्षर, अदक्ष तथा सोझा युवाहरुलाई राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्ने समस्या भने नयाँ होइन। तर अझै पनि यस्ता किसिमका ठगिमा कमी आउन सकेको देखिँदैन।
साउदी जाँदा १ लाख ४० हजार रकम बुझाएका सोमनलाई म्यानपावर कम्पनीले ३० हजारको नगदी रसिदमात्र उपलब्ध गराएको छ।
.jpg)
मुस्किलले फर्किए सोमन
सोमनले सोही मजरामा निरन्तर ४० महिना काम गरे। ‘घर आउँछु भन्दा पनि नपाइने, तलब पनि नदिने, डरलाग्दो जंगलमा बस्नुपर्ने,’ सोमनलाई कम्पनीको साहुले घर आउनै दिएन। कम्पनीले तलब पनि समयमा दिँदैन थियो।
सोमनले आफ्ना समस्या पोख्न म्यानपावर कम्पनीमा फोन गरे। म्यानपावरले समस्या सुनेर पनि नसुनेको जस्तै गरिदियो। उनी जंगलमा अलपत्र परे, कति दिन भोकै पनि बस्नु पर्ने अवस्था आयो। बेलाबेलामा पैसा पाउँथे पनि, साहुको ऋण सम्झिएर त्यो रकम घरमा पठाउँथे।
तलब मासिक १ हजारका रियालका दरले ४० महिनामा ४० हजार तलब पाउनुपर्नेमा उनले जम्माजम्मी २८ हजार रियाल मात्रै पाए।
‘साहुको अरु कामदारलाई तलब पनि दिएको छैन, फर्कन पनि दिएको छैन, म साहुको मन जितेर १२ महिनाको तलब नलिई नेपाल आएको,’ सोमनले भने।
उनी २८ महिनाको तलब लिएर गत जनवरीमा फर्किएका हुन्। निरक्षर भएकै कारण सोमनलाई सुपरमाकेर्टमा सेल्सम्यानको काम भनेर सुनाइयो र एग्रिकल्चर वर्कर करारनामा पत्रमा हस्ताक्षर गरी साउदीको जंगलमा पुर्याइयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।