काठमाडौँ- कार्यक्रम थियो, सरकारले नियुक्तिका लागि सिफारिस गरेका ४ राजदूतमाथि सुनुवाई गर्ने। भयो फुटबलका हस्ती लियोनल मेस्सीको।
सोमबार संसदीय सुनुवाइ विशेष समितिले ती प्रस्तावित राजदूतमाथि सुनुवाइ गर्ने कार्यक्रम राखेको थियो।
सरकारले सिफारिस गरेका ४ राजदूतमध्ये स्पेनका लागि प्रस्तावित दाबा फुटुङ शेर्पाको अन्तिममा सुनुवाइ चलिरहेको थियो। उनकै सुनुवाईमा निस्कियो अर्जेन्टिनाका फुटबल खेलाडी मेस्सीको प्रसंग।
राजदूतका लागि अनुमोदित हुन शेर्पाले राखेको प्रस्तुतिमाथि टिप्पणी गर्ने क्रममा सांसद योगेश भट्टराईले खुसुक्क मेस्सीको प्रसंग घुसाए।
उनले नेपाली खेलाडीले पनि मेस्सीले खेलेको टिममा खेल्ने अवसर मिलाउन सके राजदूतका रुपमा शेर्पाको क्षमता पुष्टि हुने कुरा राखे।
‘स्पेन हाम्रा लागि फुटबल हव हो,’ भट्टराईंले भने, ‘फुटबल, टबुलटेनिस, एथेलेटिक्सलगायतमा चर्चित खेलाडी छन्। धेरै ठूला—ठूला क्लब छन्। खेलाडी पनि चर्चित छन्।’उनले थपे, ‘यस्तो पनि होस् कि मेसीले खेलिरहेको बार्सिलोना क्बलमा हाम्रो नेपाली खेलाडीले खेल्ने वातावरण बनाउन सकिन्छ कि सकिँदैन। तपाईंले त्यो गर्न सक्नुहोस् शुभकामना।’
भट्टराईले मेस्सीको कुरा निकालेपछि केही समयअघि मात्रै स्पेन घुमेर आएका सांसद जितेन्द्रनारायण देवले पनि मेस्सीको कुरामा थप गरिहाले।
स्पेन गएका बेला आफूले सबैभन्दा पहिले मेस्सीले खेलेको मैदान हेरेर आएको सुनाए।‘म बार्सिलोना आइसकेपछि सबैभन्दा पहिले मेसीले कुन मैदानमा खेल्छ, त्यहाँ हेर्न गएँ,’ उनले भने, ‘मेस्सीले खेलेको मैदान हेरेर आएँ भन्नलाई पनि म पहिले यहाँ गएर आएँ। त्यसपछि मात्रै म अन्य सहर गएँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।