काठमाडौं- धनुषा जिल्ला वेदह नगरपालिकाका रोशन प्रमानीले सोमबार प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) र वैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन (सामी)लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा कतारमा आफूले भोगेको पीडा सुनाउन सुरु गरे।
'कतारमा यस्तो समस्या छ सर/म्याडम...'
उनको गति अघि बढी रह्यो विदेशी भूमिमा भोगेका पीडा सुनाउन शब्द खर्चिरहे। उनी ९ महिना अगाडी रोजगारीका लागि कतारको अल्कारिम मुसलमान कम्पनीमा लेबर कामका लागि पुगेका थिए।
रोजगारीका लागि नेपालको मदिना खालिफा म्यानपावर कम्पनीबाट कतार पुगेका उनलाई श्रम गरेबापत् तलब समेत पूरा दिइएन।
९ महिना कतार बसेका उनले सुरुमा ४ महिनाको मात्र तलब पाए। साहुसँग हारगुहार गर्दा पछि २ महिनाको तलब थपियो। उनले काम गरेका ३ महिनाको तलब पाएनन्।
‘खान पनि दिँदैन थियो, बस्ने ठाउँ पनि राम्रो थिएन, सीआइडीको सहयोगमा घरबाट ऋण पैसा मगाएर नेपाल फर्किएँ,’प्रमानीले सुनाए।
खान पनि आफ्नै पैसा खर्च गर्नुपर्ने, तलब पनि कम्पनीले नदिने गरेपछि ३ महिना उनी कतारमा अलपत्र परे।
‘कतारको श्रमिक अदालत, दूतावासमा कहाँकहाँ धाइनँ?’ जताजता धाएपनि ३ महिनाको तलब पनि पाइनँ, खानबस्न समस्या भएपछि म फर्किएँ,’उनले सुनाए। प्रमानी जुलाई १ मा नेपाल फर्किएका हुन्। 'साहुको सय कडा तीन छ। कसरी तिर्ने?’ उनलाई चिन्ताले सताएको छ।
लेखपढ गर्न नजान्दा समस्या
सर्लाही ब्रम्हपुरी-३ का सोमन शाह रौनियारले विदेशमा भोगेको समस्या पनि कम पीडादायी छैन। उनी सन् ३ सेप्टेम्बर २०१५ मा रोजगारीका लागि साउदी पुगेका थिए।
उनी कोसमस नेपाल ह्युमेन रिसोर्सेस प्रालिमार्फत उनलाई सेल्सम्यान कामका लागि साउदी पुगेका थिए। हिन्दी भाषा मात्रै बोल्न जान्ने सोमनलाई अक्षर पढ्न मुस्किल छ।
सामान्य लेखपढ गर्न समेत नजान्ने सोमनलाई म्यानपावर कम्पनीले कृषि कामका लागि पठाएर पनि सेल्सम्यानमा काम भएको बताएको थियो। सेल्सम्यान कामका लागि गएका उनलाई साउदीको जंगलमा पुर्याइयो।
करारनामा पत्रमा पनि सोमनको काम कृषि नै उल्लेख छ। उनी लेखपढ गर्न नजान्ने भएकै कारण सुपरमार्केटमा सेल्सम्यानको काम भनेर ढाँटेको थियो। सेल्सम्यानको काम भनेर साउदी पुगेका उनले जंगल पुग्नुपर्यो।
तलब मासिक १ हजार साउदी रियाल बताइएको थियो। करार अवधि २ वर्षको। उँट चराउने, ट्याक्टर चलाउने, बाख्रा चराउने, तरकारी खेतीको लगायत काम गर्नुपर्ने थियो। ‘सेल्स म्यान भनेर पुगेको म मलाई मजरा (कृषिमा) काम लगाइयो, ४० महिना काम गर्दा २८ महिनाको मात्रै तलब दियो,’सोमनले गुनासो गरे।
‘१२ हजार रियाल तलब उनले लिएकै छैनन्। उनीसँगै साउदीको मजरामा ६ जना अन्य नेपाली पनि कार्यरत थिए। सबैको करार अवधि सकिएपछि पनि नेपाल आउन दिएको थिएन। २ जना भागेर गए। ४ जना सोही ठाउँमा बिना तलब काम गरिरहेका छन्,’ सोमनले भने। सोमन भने साहुको मन जितेर १२ महिनाको तलब नलिई नेपाल फर्किए।
अकामा नबनाइदिँदा अवैध
आप्रवासी कामदारहरुका लागि परिचय पत्र 'अकामा'समेत नबनाइदिने समस्या साउदीमा रहेको फर्किएका कामदार बताउँछन्। विदेशी कामदारको परिचयपत्र नहुँदा उनीहरु अवैध ठहर्छन् र प्रहरीको फन्दामा पर्छन्। अकामा नभएकै कारण कतिपय नेपाली कामदार बिना गल्ती जेलजीवन बिताउन बाध्य हुन्छन्।
‘कम्पनीले अकामा बनाइदिँदैन, हामी निर्दोष कामदार जेल बस्नुपर्ने हुन्छ,’साउदीबाट फर्किएका सोमनले सुनाए।
कम्पनी सञ्चालकको लापरबाहीले समस्या
मोरङ विराटनगरका दिनेश खड्का २९ वर्षका भए। २०७३ साल असार १६ गते निकै मीठो सपना लिएर मलेसिया उडेका थिए।
मिथिला म्यानपावर कम्पनीमार्फत् रोजगारीका लागि फर्निचर कम्पनीमा काम भनेर मलेसिया पुगेका उनलाई मलेसियाको वक्का (होमपाइप) बनाउने कम्पनीमा पुर्याइयो। तलब भने भनेजति नै थियो उनको। तलब मासिक ९ सय मलेसियन रिंगिट र ओभरटाइम गरेर १८ सय कमाउँथे।
![](https://nepallive.com/uploads/files/saudi%20qatar.jpg)
काम गर्न थालेको २ वर्षपछि उनको कम्पनीको मालिक परिवर्तन भयो। मालिक परिवर्तन भएसँगै उनले पहिलेजस्तो सेवासुविधा पाएनन्।
म्यानपावरलाई मात्रै १ लाख ४० हजार तिरेर मलेसिया पुगेका उनको दुई लाखभन्दा बढी ऋण थियो। २ वर्षसम्म कमाएको रकम ऋण तिर्न र घर खर्चका लागि पठाइसकेका थिए।
'आफ्नो साथमा पैसा पनि थिएन, मालिक परिवर्तन भएपछि कम्पनीको साहुले तलब पनि दिएन। म्यानपावरमा खबर गर्दा कुनैपनि सहयोग पाइनँ,' उनले सुनाए। केही महिना बिना तलब काम गरेर २०७५ माथ २७ गते दिनेश खड्का नेपाल फर्किए।
वैदेशिक रोजगारीका लागि मलेसियालगायत विभिन्न खाडी मुलुकमा दैनिक १ हजारभन्दा बढी युवा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट बाहिरिन्छन्।
रोजगारीका लागि दैनिक हजारभन्दा बढी संख्यामा विदेशिने नेपाली कामदारमध्ये पनि थुप्रै कामदार भनेजस्तो काम तलब वा सेवा सुविधा नपाएर फर्कन बाध्य छन्।
प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)मा एक वर्षको अवधि (सन् २०१८) मा मात्रै १ हजार २ सयभन्दा बढी वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा पुगेर फर्किएका युवाले उजुरी गरेका छन्। जसमध्ये ५ सय उजुरीहरु फरफारक भइसकेका छन्।
दुबई, कतार, मलेसिया, साउदी, कुवेतलगायत अन्य विभिन्न मुलुकमा समस्यामा परेका कामदारलाई उद्धारका लागि पिएनसिसीले समन्वय गर्दै आएको छ।
कामदारहरु बिना गल्ती जेलमा पर्ने, पारिश्रमिक नपाउने, बिना गल्ती कामबाट निस्काशन हुने, करारनामा प्रतिस्थापन, बाध्यकारी श्रम, बसोबास व्यवस्थापनमा समस्या, आप्रवासी परिचयपत्र नपाउने, फरक काम तथा पारिश्रमिकलगायतका जटिल समस्यामा रहेको पिएनसिसीले जनाएको छ।
पीएनसीसीले विदेशमा विभिन्न समस्यामा परेका कामदारहरुलाई उद्धारका लागि समन्वय गर्दै आएको छ।
पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीले रोजगारीका लागि खाडी लगायत मुलुकमा पुगेका कामदार जटिल समस्यामा रहेकाले यस्ता समस्या निराकरणका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरुले पहल गर्नुपर्ने बताए।
वैदेशिक रोजगारीमा जानु अघि नै कामदार ठगिन सक्ने सम्भावना अध्ययन गरी संयमितता अपनाउनुपर्नेमा अध्यक्ष कार्कीले जोड दिए।
‘साउदी अरबमा नेपाली कामदारलाई दुख दिने, थुनेर काम लगाउने लगायत भिसा पठाएबापत अनावश्यक रकम लिने जस्ता समस्या थिए, अहिले सो समस्या केही कम भएको भनिएको छ,’अध्यक्ष कार्कीले भने।
नेपाली कामदारका समस्या समाधान गर्न विदेशस्थित रोजगारदाता कम्पनी निरीक्षण गरिनुपर्ने, र म्यानपावर कम्पनीलाई श्रमिकका समस्या प्रति उत्तरदायी बनाउनुपर्ने अध्यक्ष कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।