काठमाडौं- अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालले आफू र आफ्नो परिवारका नाममा ग्रिनकार्ड नभएको दाबी गरेका छन्।
समितिको सुनुवाईमा सांसदले ग्रिनकार्ड लिएको व्यक्तिलाई कसरी राजदूतको नाममा अनुमोदन गर्ने भनी प्रश्न सोधेपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।
सुनुवाई समितिमा अधिकांश सांसदले एउटै प्रश्न सोधेका थिए ‘ग्रिनकार्ड लिएको आरोप के हो?’
त्यसको जवाफमा श्रीमती अमेरिकामा नर्सिङ अध्ययन गरिरहेको र काम गर्नका लागि वर्क पर्मिट लिएको उनले समितिमा स्पष्ट पारे। २००१ मसँगै अमेरिका गएको र त्यहाँ अध्ययनमा रहेको उनले बताए।
संसदीय सुनुवाई समितिमा सांसदले सोधेको प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन्।
‘म र मेरो परिवारको नाममा कुनै ग्रिनकार्ड फेला परेमा म यो राजदूतको पद स्वीकार गर्ने छैन,’ दाहालले भने, ‘नेपालको संविधान पालना गर्दै आफू देशको कुनै पनि इमान्दारितामा चुक्ने छैन, आजसम्म चुकेको छैन।’
उनले आफू अमेरिका चार पटक गएको तर ग्रिनकार्डका लागि कुनै पनि आवेदन नदिएको समितिमा बताए।
‘पहिलो पटक म २००१ मा अमेरिका गएको थिएँ। एक महिना बसेको थिएँ,’ उनले भने, ‘२०१५ र पछिल्लो पटक २०१८ मा गरी चार पटक अमेरिका गएको छु। मैले ग्रिनकार्ड लिएको छैन। कहीबाट प्रमाणित भए यो राजदूत पद स्वीकार गर्ने छैन।’
श्रीमतीले वर्कपर्मिट लिएको स्वीकार गर्दै उनले त्यसको म्याद यही सेप्टेम्बरसम्म मात्र रहेको बताए। सरकारले गरेको विश्वास तोड्न नदिने भन्दै उनले संविधानले दिएको अधिकार प्रयोग गरेर देशको हितमा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।
सुनुवाइ समितिका यसअघि बंगलादेशका लागि प्रस्तावित वंशीधर मिश्र र कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाजलाई सांसदले प्रश्न गरेका थिए।
दाहालको सुनुवाइपछि स्पेनका लागि प्रस्तावित ३४ वर्षीया दाबा फुटुङ शेर्पाको सुनुवाइ चलिरहेको छ। शेर्पा पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।