बि-बोइङमा चुन्टु नेपाल च्याम्पियन, विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने

नेपाल लाइभ | २०७६ असार २३ सोमबार | Monday, July 08, 2019 १६:५०:०० मा प्रकाशित

काठमाडौं- बि-बोइङको विश्व च्याम्पियनसिपमा बि-ब्वाय चुन्टुले नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। 

नेपाल हिपहप फाउन्डेसन तथा गोविन्द एजुकेसनले आयोजना गरेको 'नेपाल बि-ब्वाय सिटी-२०१९'को उपाधि जितेसँगै बि-बोइङको विश्व च्याम्पियनसिपमा चुन्टुले नेपालको प्रतिनिधित्व गर्ने भएका हुन्।

बि-बोइङको विश्व च्याम्पियनसिप डिसेम्बर ७ देखि ८ सम्म ताइवानमा हुनेछ।

चुन्टु भक्तपुर 'डार्कनेस क्रु'का सदस्य हुन्। कार्यक्रममा विभिन्न ५ विधामा कूल १ सय ३४ प्रतिस्पर्धी सहभागि थिए।

प्रतियोगिताको 'वान-अन-वान अल स्टायल'तर्फ मुकेश ढकाल पहिलो भए। उनले २० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे। 'वान-अन-वान अल स्टायल किड्स'तर्फ बि-ब्वाय आर्यन, 'वान-अन-वान अन्डिस्प्युटेड बि-गर्ल'तर्फ द ब्याटल फ्युजन क्रुकी सदस्य रहेकी बि-गर्ल फेथले उपाधि हात पारिन्। दुवैले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरे।

त्यस्तै 'फो-अन-फो ब्रेकिङ'को उपाधि जित्दै भनेलेट्स ब्रेक क्रुले ३० हजार रुपैयाँ र प्रमाणपत्र हात पारे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै योजना धमलाले गोविन्द एजुकेसन राइजिङ स्टार अवार्ड प्राप्त गरिन्।

सबै विजेतालाई हेल्थ करियर्स् इन्टर्नेसनल अष्ट्रेलियाको नेपालका लागि बजार व्यवस्थापक धीरज सिंह र गोविन्द एजुकेसनका कार्यकारी निर्देशक विज्ञान कँडेलले प्रदान गरे।

कार्यक्रममा गायिका समृद्धि राई, र्‍यापर निर्णय डिएन एसके, प्रोफेसर ट्रिक्सलगायतको उपस्थिति रहेको थियो।