काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गरेका छन्।
पोखरास्थित सम्पूर्ण प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत एवम् कार्यालय प्रमुखहरुलाई सोमबार पोखरामा निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी दक्षिण एसियाकै उत्कृष्ट रहेको दाबी गरेका हुन्।
प्रहरी अनुसन्धान टिमलाई अझ बलियो बनाई हरेक अनुसन्धान सफल पार्न प्रहरी कर्मचारी कटिबद्ध हुनुपर्ने बताए।
अपराध अनुसन्धान एवं शान्ति सुरक्षा कायम गर्ने कार्यमा कानुनसम्मत कठोर बन्दै उत्कृष्ट काम गर्न प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।
दक्षिण एशियामै नेपाल प्रहरी उत्कृष्ट भएको दाबी गर्दै उनले भने, 'अपराध अनुसन्धान, शान्ति सुरक्षा कायमको साथै समाज सुधारका काममा अझै उच्च मनोबलका साथ काम गर्नुपर्छ।'
भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्दै काममा चुस्त दुरुस्त रहनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले बर्दीको इज्जत र प्रतिष्ठा कायम राख्न असल चरित्र भएकासँग मात्र संगत गर्नुपर्नेमा जोड दिए।
कार्यालय व्यवस्थापन, सरसफाई, व्यक्तिगत टर्नआउट लगायतका काममा विशेष ध्यान दिन निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले कार्यालयको अभिलेख, योजना र अनुगमनलाई थप चुस्त दुरुस्त रुपमा प्रस्तुत गर्नपर्ने बताए।
नेपाल प्रहरीका रणनीति, योजना र दृष्टिकोणहरु तल्लो तहसम्म र्पुयाउन सबैले पहल गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले उच्च मनोबल र नैतिक परिवर्तनका लागि संगठनद्वारा अवलम्बन गरिएका नीतिलाई गम्भीरतापूर्वक लिई सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।