काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतबाट आयात गरिने तरकारीमा विषादी जाँच गर्ने विषयमा सचिवलाई विश्वास गर्दा आफू समस्यामा परेको बताएका छन्।
‘मलाई यस्तो भुईंचालो आउँछ भन्ने थाहा थिएन। ठूलो हल्लीखल्ली भयो। तर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि मन्त्रालय र वाणिज्य मन्त्रालयका सचिवले हामीलाई वास्तविकता भनेनन्। गुमराहमा राखे। सबै कुरा आफैं गर्नपर्थ्यो। उनीहरुलाई विस्वास गर्नु नै मेरो गल्ती भयो,’ मन्त्री यादवले भने।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, कृषि तथा पशुपन्छी मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी चेकजाँच गरेर मात्र वस्तु भित्र्याउने भनेर लामो समय छलफल गरे पनि पूर्वाधार उपलब्ध नरहेको बारे आफूलाई कसैले जानकारी नगराएको उनको भनाई थियो। ‘यस विषयमा ती निकायले लामै छलफल गरे। तर हामीसँग प्रयोगशाला छैन भनेर कसैले भनेनन्,’ यादवले भने।
सरकारले असार २ गते भएको सूचित आदेशअनुसार भन्सार नाकामा तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय गरेको भएपनि पर्याप्त पूर्वाधार नरहेको कारण देखाउँदै गत बिहीबारदेखि चेकजाँच नगरी आयात गर्न दिएको छ। सरकारले सुरु गरिसकेको विषादी परीक्षणको काम भारतको दबाबमा रोकिएको भन्ने विषयप्रति पनि मन्त्री यादवले असन्तुष्टि जनाएका छन्।
मन्त्रीले सचिवलाई देखाएर कमजोरी स्वीकार गर्दैगर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले भने उक्त विषय मन्त्रालयका अर्का सचिव केदार बहादुर अधिकारीले हेरेको भन्दै आयातित वस्तुमा विषादी चेकजाँच गर्ने विषयमा आफूलाई जानकारी नै नभएको बताईन्। तर घिमिरे भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।
यसरी मन्त्री र सचिवले अर्को सचिवलाई वास्तविकताको दोषारोपण गर्ने खोजेपनि नैतिक जिम्मेवारी भने आफूहरु लिन तयार रहेको उनीहरुको भनाई छ।
मन्त्री यादवले विषादी चेकजाँज नगर्ने भनेर सरकारले कुनै निर्णय नगरेको पनि दाबी गरेका छन्। ‘विषादी चेकजाँच नगर्ने भनेर कुनै निर्णय नै भएको छैन। हामीले तत्काल हामीसँग पूर्वाधार नभएर सम्भव भएन मात्रै भनेका हौं,' मन्त्री यादवले भने।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले आफूलाई मन्त्रिपरिषद् निर्णयबाटै विषादी परीक्षण गर्ने र नगर्ने दुवैखालका आदेश आएको र आफूले त्यसको पालना गरेको धारणा राखेका थिए।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिला चेकजाँच गरिनुपर्छ भन्ने प्रस्ताव मन्त्रिपरिषद् लग्यो। फेरी केही दिनमै गर्न हुँदैन भनेर प्रस्ताव लग्यो। परीक्षणको काम कृषि मन्त्रालयसँग जोडिएको हुनाले परीक्षण गर्नुपर्छ भन्दा हामीले गर्यौं। रोक्नुपर्छ भन्दा रोक्यौं,’ कृषि मन्त्री खनालको भनाई थियो।
तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले भने विषादी परीक्षण रोक्न कृषि मन्त्रालयबाटै पत्राचार भएको दाबी गर्छन्। सोही पत्र बमोजिम आफूले मन्त्रिपरिषदमा उक्त विषय लगेको उनले बताए।
‘विषादी चेकजाँचको काम कृषि मन्त्रालय अन्तर्गतका निकायले गर्छन्, हामीले त परीक्षण गर्नुपर्छ भन्ने निर्णय मात्रै गरेका हौं। कृषि नै हामीलाई २ वटा पत्र पठाएर आवश्यक उपकरण नरहेको कारण देखाउँदै तत्काल विषादी चेकजाँच गर्न नसकिने जानकारी गरायो। त्यही कुरा मैले मन्त्रिपरिषद्मा लगेको हुँ,’ यादवले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।