काठमाडौं– विषादीरहित उपभोग्य वस्तुमा आम उपभोक्तको पहुँच सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले माग गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले यस्तो माग गरेको हो।
नेपाल भित्र उत्पादन हुने वा आयात गरिने खाद्यान्न, तरकारी लगायत उपभोग्य वस्तुको गुणस्तरीयता, स्वच्छता, विषादीरहीत अवस्थाको सुनिश्चित्ता र सुरक्षाको मुख्य जिम्मेवारी नेपाल सरकारको भएकोले समेत आयोगले स्मरण गराएको छ। ‘अन्य देशबाट आयात गरिने तरकारी, फलफूल र खाद्यान्न लगायत उपभोग्य वस्तु सीमा नाकामा विषादी जाँच नगरी निर्बाध रुपमा आयात गर्न दिने गरी नेपाल सरकारले हालै गरेको निर्णयप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ।
उपभोक्ताको मानव अधिकारलाई मौलिक हकको रुपमा संवैधानिक संरक्षण प्रदान गरी नेपालको संविधानको धारा ४४ ले उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुने एवं गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानी पुगेमा क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरेको भन्दै गुणस्तरीय उपभोग्य वस्तुमा सबै नागरिकको पहुँच सुनिश्चित गर्न माग गरेको हो।
उपभोक्ता संरक्षण ऐन–२०७५, संयुक्त राष्ट्रसंघको मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ को धारा २५, धारा २६, संयुक्त राष्ट्रसंघद्वारा जारी उपभोक्ता संरक्षण सम्बन्धी निर्देशिका, १९८५ ले उपभोक्ताको सुरक्षाको अधिकार, सुसूचित हुने अधिकार तथा क्षतिपूर्तिको अधिकार समेत सुनिश्चित गरेको भन्दै जनताको स्वस्थ जीवनयापनको अधिकार संरक्षण गर्न राज्यले आवश्यक उपायको अबलम्बन गर्नुपर्ने आयोगको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।