जनकपुर- सर्लाहीको उत्तर–पूर्वी क्षेत्रको एक गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकमा प्रहरीले मृतककै पत्नीलाई नियन्त्रणमा लिएको छ।
ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर लामीदमार निवासी ५४ वर्षीय अम्बरबहादुर परियारको धारिलो हतियार प्रहार गरी हत्या भएको हो। वडाध्यक्ष नागेन्द्र पाख्रीनकाअनुसार परियारको शवको टाउको र ढाडमा धारिलो हतियार प्रहार गरेको गहिरो चोट रहेको छ। प्रहरीले हत्यामा संलग्न हुन सक्ने आशंकामा परियारकी श्रीमती ५७ वर्षीया सोनामाया नेपालीलाई नियन्त्रणमा लिएको हो।
शनिबार रातीकै घटना भएपनि घटनास्थल सिन्धुली जिल्लाको सीमा नजिक विकट चुरे क्षेत्रमा पर्ने भएकाले प्रहरीले आइतबारमात्र जानकारी पाएको थियो। लामीदमारका स्थानीयबासीले आइतबार बिहान ७ बजे वडाध्यक्ष पाख्रिनलाई जानकारी गराएपछि मात्र उनीमार्फत् घटनाबारे प्रहरीले जानकारी पाएको थियो।
मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय केशरजंगले जनाएको छ। प्रहरीले घटनास्थलबाट एक थान बञ्चरो समेत बरामद गरेको छ। कालिन्जोरबाट बाँके खोलाको बाटो हुँदै घटनास्थल पुग्नु पर्ने हुँदा मृतकको शव ल्याउँन ६ घन्टाभन्दा बढी समय लागेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए।
घरमा श्रीमान–श्रीमती मात्र बस्ने गरेको र प्रायः मदिरा सेवन गरिरहने अम्बरबहादुर र सोनामायाबीच दैनिकजसो विवाद भइरहने गरेको स्थानीयले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।