काठमाडौं- आधुनिक हतियारसहित पक्राउ परेका सोलुखुम्बुका साङ्गे शेर्पा कारागार चलान भएका छन्।
२४ वर्षीय शेर्पालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आइतबार पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। शेर्पा गत जेठमा तीनकुनेस्थित एक पार्टी प्यालेसमा आधुनिक मेड इन जापान लेखिएको पेस्तोल र त्यसको म्यागजिनसहित पक्राउ परेका थिए।
उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरेको थियो।
साङ्गेले भने अदालतसमक्ष आफूलाई नियोजित रुपमा फसाइएको भन्दै बयान दिएका थिए। साङ्गेले भने, ‘मेरो सामान्य चिनजानको दाइ सुमन तामाङलाई मैले करिब १ महिना पहिला ४ लाख ऋण दिएको थिएँ, सोही पैसा फिर्ता दिन्छु भनी निज सुमन तामाङले गत जेठ २७ गते तीनकुनेमा रहेको ए वान क्याफेमा बोलाउनुभएको र म त्यहीँ गएको थिएँ। सोही समयमा सुमन तामाङले मलाई पैसा दिन्छु भनी मेरो झोला काउन्टरमा लगेर पैसा झोलामा छ भनी उक्त झोला फिर्ता दिनुभएको थियो। त्यसको केही समयपछि प्रहरी आइ सोही झोला खोली हेर्दा पेस्तोल फेला पारी मलाई पक्राउ गरेका हुन्। मलाई सो झोलामा के छ भन्ने कुरा थाहा थिएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।