काठमाडौं– एउटा कलाकारको पहिचान निर्माणमा उसले खेल्ने फिल्म र निर्वाह गर्ने चरित्रले ठूलो महत्व राखेको हुन्छ। अभिनेत्री स्वस्तिमा खड्काकै चर्चा गरौं न, ‘बुलबुल’ खेल्नुअघिसम्म उनको परिचय ‘लभर गर्ल’ भूमिकामै सीमित देखिन्थ्यो।
फिल्म समीक्षकले हेर्ने दृष्टिकोण पनि ‘डार्लिङ एक्टर’भन्दा फरक थिएन। तर, समय बद्लियो। समयसँगै स्वस्तिमा पनि बद्लिइन्। अनि आफूसँगै उनीप्रति समीक्षक र दर्शकले राखेको दृष्टिकोण पनि बदल्न सफल भइन्। अर्थात्, ‘बुलबुल’मा उनले निर्वाह गरेको टेम्पो महिला ड्राइभरको भूमिकाले सर्वत्र चर्चामात्रै बटुलेन उनलाई अब्बल अभिनेत्रीको दर्जामा पनि लिइन थालियो।
यतिमात्रै होइन, अहिले नेसनल फिल्म अवार्ड नजिकिँदै गर्दा उनलाई उत्कृष्ट अभिनेत्रीको दाबेदारका रुपमा पनि हेर्न थालिएको छ।
यो त रह्यो उनको करिअरको चर्चा अर्थात् फिल्मप्रतिको मोह। तर यसबाहेक अर्को एउटा कुरा पनि छ,जेसँग उनको गहिरो मोह छ। त्यो हो– समुद्रको किनारमा पुगेर त्यसको छालसँग खुलेर मस्ती गर्ने।
उनको समुन्द्री प्रेम थाहा पाउन केही गर्न पर्दन, मात्रै केही महिनायता उनले सामाजिक संजालमा राखिरहेको तस्बिर नियाले पुग्छ।
झन्, ‘बुलबुल’को विशेष शोका लागि अष्ट्रेलियाको सिड्नी पुग्दा त्यहाँको समुद्र किनारमा मस्ती गरेको तस्बिर त मिडियामा पुरा भाइरल नै भएको थियो।
त्यस्तै, अहिले पनि उनी ‘बुलबुल’ लिएर श्रीलंकामा आयोजना भइरहेको सार्क फिल्म फेस्टिभलमा पुगेकी छन्। शनिबार(हिजो)मात्रै उनको जन्मदिन परेको थियो।
उनले जन्मदिन त्यतै मनाइन्। केक त काटिन् नै, सँगसँगै समुद्री तटमा पुगेर पानीका छालसँग खेल्न पनि छाडिनन्।
पानीसँग खेल्दा बाक्लो कपडा लगाउने कुरै भएन। देशअनुसारको भेष र परिस्थितिअनुसारको पहिरन त हुनैप-यो। त्यसैले होला, नेपालमा हुँदा खुल्ला पहिरनमा विरलै देखिने उनी समुद्री किनारमा पुगेर ‘टु पिस’ कपडामा देखिइन। शनिबार आफ्नो जन्मदिनमा उनले त्यसरी समुन्द्री किनारमा मस्ती गरेको तस्बिर र भिडियो फेसबुक स्टोरीमा सेयर समेत गरेकी छिन्।
सायद यो उनले जन्मदिन मनाउँदाको खुशी पनि थियो, त्यसैले साथीसंगी र दर्शकसँग पनि बाडिन्।
समुद्री तटमा मस्ती गरिरहेको तस्बिर सामाजिक संजालमा खुब आउन थालेपछि हाल श्रीलंकामै रहेकी उनीसँग नेपाल लाइभले जिज्ञासा राख्यो,यस्तो किन?
उनले छोटोमिठो जवाफ दिइन्,‘मलाई समुद्र मनपर्छ। अझ पानीसँग खेल्न भनेपछि हुरुक्कै हुन्छ। तर, नेपालमा समुद्र छैन त्यसैले विदेश जहाँ–जहाँ पुग्छु, समय मिलाएर समुद्र घुमिहाल्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।