काठमाडौं- नेपाल पत्रकार महासंघ सिन्धुली शाखा अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालाई प्रहरीले निर्घात कुटपिटगरी गम्भीर घाइते बनाएको भन्दै नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार सलामसिंह लामा र प्रहरी जवान विकाससिंह स्याङतानले हिजो असार २१ गते राति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उदेश्यसहित कुटपिट गरेका भन्दै पत्रकार महासंघले विरोध गरेको छ।
आक्रमणबाट गम्भीर घाइते भई बेहोस अवस्थामा काठमाडौं ल्याइएका कार्कीको हाल अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
'पत्रकारद्वय कार्की र दाहालमाथि आक्रमणको महासंघ कडा शब्दमा निन्दा र भर्त्सना गर्दछ। महासंघ घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाही गर्न, उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ,' महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
त्यसैगरी, असार २१ गते गोरखापत्र दैनिकमा कार्यरत पत्रकार शान्ति लामामाथि समाचार संकलनका क्रममा काठमाडौंको कीर्तिपुर नगरपालिका-५ स्थित भत्केपाटी जाखामा दुव्र्यवहार भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।
लामा सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाइएको सूचनाका आधारमा स्थलगत रिपोर्टिङका लागि त्यहाँ पुग्दा केही व्यक्तिहरुले दुर्व्यवहार गरेका थिए।
यस्ता घटनाको निन्दा गर्दै समाचार संकलनमा खटिएका पत्रकारलाई सम्मान गर्नुका साथै घटनाका दोषीमाथि कडा कारबाही महासंघले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।