दमक- विद्युत चुहिएर झापाको कमल गाँउपालिकामा गएराति १ जनाको मृत्यु भएको छ भने अर्का १ घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन्। दुवै नेपाल विद्युत प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको बताइएको छ।
गएराति साँझ ८ बजेतिर कमल गाउँपालिका–५ स्थित कावेली करिडोर पावरहाउसको सवस्टेसन अगाडि राजमार्गको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक विद्युत चुहिँदा दुवै घाइते भएका थिए। घाइते खतिवडाको दमकस्थित लाइफलाइन अस्पतालमा ल्याउना साथ मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए।
घाइते बुढालाई थप उपचारका लागि भारतको सिलगुढी लगिएको छ। घटनाको विस्तृत विवरण खुल्न सकेको छैन भने प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।