डडेल्धुरा– प्रदेश ७ को राजधानी डडेल्धुरा हुनुपर्ने माग राखी गरिएको चक्काजामका कारण यात्रुहरु समस्यामा परेका छन्। दबाब समूहले बिहीबार सार्वजनिक गरेको साताव्यापी संघर्षको कार्यक्रम अन्तर्गत शुक्रबार मध्याह्न १२ बजेदेखि ४ बजेसम्म डडेल्धुरामा चक्काजाम गरिएको थियो।
सदरमुकामको बागबजार क्षेत्रमा १२ बजेदेखि नै सवारीसाधनहरु आवतजावतमा रोक लगाइएको थियो। चक्काजामका कारण तराइका जिल्लाहरु कैलाली, कञ्चनपुरबाट पहाडी जिल्ला बैतडी, दार्चुला र बझाङ जाने सवारी साधनमा ठप्प हुँदा यात्रुलाई सास्ती भएको थियो। ४ बजेपछि भने सवारी साधन चलेका थिए।
डडेल्धुरालाई प्रादेशिक राजधानी नतोके कडा आन्दोलनमा उत्रने दबाब समूहका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य प्रकाश साउदले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।