उर्लाबारी (मोरङ)– गत वर्ष डेंगु रोगबाट प्रभावित बनेको मोरङको उर्लाबारी र पथरीशनिश्चरेमा यस वर्ष डेंगु नियन्त्रणको अभियान थालिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालयले सोमबार उर्लाबारी र पथरीशनिश्चरेमा डेंगु नियन्त्रणसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम राखी नियन्त्रण अभियान थाल्ने भएको हो।
पथरी र शनिश्चरे स्वास्थ्य चौकीको संयोजनमा पथरीमा सम्पन्न कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्द्रदेव मेहताले आजदेखि उर्लाबारी तथा पथरीशनिश्चरेमा डेंगु रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्ने चारदिने अभियान अघि बढ्ने जानकारी दिए।
उनले कार्यक्रममा सहभागी विभिन्न पक्षका सरोकारवालालाई कुलर, गमला, टिन तथा प्लास्टिकका डब्बा, टायरमा पानी जम्न नदिनु नै डेंगु रोग नियन्त्रणको उपाय रहेकाले सबैलाई सचेत गराउन अनुरोध गरे। कार्यक्रममा कार्यालयका प्राविधिक रिपुमर्दन डोटेलले डेंगु सर्ने तथा यसको नियन्त्रणका उपायका बारेमा जानकारी गराए।
पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईले पथरी बजार क्षेत्र लामखुट्टेजन्य रोगको जोखिम क्षेत्र भएकाले यसमा सबै पक्ष मिलेर जनचेतना जगाउन र निरन्तर सरसफाइ गर्न आवश्यक रहेको उल्लेख गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।