लमजुङ- पश्चिम लमजुङको मध्यनेपालमा रहेको ३ मेगावाट मिदिमखोला जलविद्युत् आयोजनाको कार्यालय तोडफोड भएको छ। मध्यनेपाल–८, करापुमा रहेको कार्यालयमा बिहीबार साँझ तोडफोड भएको हो।
सोही नगरपालिका अन्तर्गत डढुवाका स्थानीयवासीले ढुंगामुढा प्रहार गरेर कार्यालय तथा कर्मचारी आवासगृहमा तोडफोड गरेको आयोजनाले जनाएको छ। केही दिनअघि उनीहरुले बाँध क्षेत्रमा रहेको हेडवर्क्सको प्यानलबोर्ड पनि तोडफोड गरेका थिए।
तोडफोडबाट जलविद्युत्को आवासगृह र कार्यालयका गरी ६ वटा कोठामा क्षति भएको छ। आयोजनाको आवासगृह र कार्यालयको पर्खाल, ढोका, झ्याल साथै कोठाभित्रका कम्प्युटर, दराज लगायतका सामग्रीमा क्षति पुगेको बताइएको छ। त्यस्तै ग्यारेजमा राखिएको बा१३ज २४६३ नं को पिकअप जिपमा पनि क्षति पुगेको आयोजनाले जनाएको छ।
आयोजनासँग विभिन्न माग राख्दै आएका स्थानीयवासीले सुनुवाइ नभएको भन्दै तोडफोड गरेका हुन्। घटनामा संलग्नहरु फरार भएको र उनीहरुलाई खोजीकार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्स्पेक्टर जयराम वन्तले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।