सोल- दक्षिण कोरियाले राखेको वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको छ।
दक्षिण कोरियाले हालै मात्र उत्तरसँग अन्तरसरकारी स्तरमा उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको थियो। सो प्रस्ताव उत्तरले स्वीकार गरेको खबर पठाएको दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले जानकारी दिएको छ।
सोलमा शुक्रबार आयोजित पत्रकार सम्मेलमा उक्त मन्त्रालयका प्रवक्ता वाइता हानले दक्षिण कोरियाले पठाएको उच्चस्तरीय वार्ताको प्रस्ताव उत्तर कोरियाले स्वीकार गरेको बताए।
सो वार्ता जनवरी ९ मा गर्नेगरी तय गरिएको छ। वार्ता दक्षिण कोरियाको नियन्त्रणमा रहेको पानामजुमस्थित शान्तिगृह ‘पिस हाउस’ मा आयोजना गरिएको छ।
सो वार्ताको प्रस्ताव करिब महिना दिनअघि नै दक्षिण कोरियाले गरेको थियो। यसअघि दक्षिण कोरियाले आयोजना गरेको गृष्मकालीन ओलम्पिक खेलमा पनि सहभागिताका लागि उत्तरले सहमति जनाएको थियो।
सो उच्चस्तरीय वार्ताले आगामी दिनमा यी दुई देशको सम्बन्ध सुधारमा सहयोग पुग्ने बताइएको छ। साथै सो वार्ताका क्रममा दक्षिण कोरियामा हुन लागेको उक्त खेलकुदका विषयमा पनि कुराकानी हुने बताइएको छ। हुन त यसअघि नै दक्षिण कोरियाली राष्ट्रपति इनले नै उक्त खेलकुदको तयारीका लागि सम्बद्ध पक्षलाई निर्देशन दिइसकेको बताइएको थियो।
उता उत्तर र दक्षिण कोरियाबीच पछिल्लो समयमा सुरुवात गरिएको हटलाइन टेलिफोन सेवाप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि स्वागत गरेका छन्।
उत्तर कोरियाली नेता किम जोङ उनको आदेशमा दुई वर्षअघि बन्द गरिएको उक्त सेवा बुधबार अपराह्नबाट पुनः सुरु भएको छ।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।