खोटाङ- हलेसीका अग्निपीडितका लागि राहत संकलन सुरु गरिएको छ।
मंगलबार राति भएको आगलागीमा घरसहित सबै बन्दोबस्तीका सामान गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७, महादेवस्थानका अग्निपीडितको सहयोगका लागि राहत संकलन थालिएको हो।
हलेसी बजारबाट बुधबार रु तीन लाख रकम संकलन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले बताए। अग्निपीडितको सहयोगार्थ राहत संकलनका लागि काठमाडौँमा पनि दिनेश राईको संयोकत्वमा सात सदस्यीय ‘अग्निपीडित राहत संकलन समिति’ गठन गरिएको छ।
स्थानीय मगम राईको घरबाट सुरु भएको आगोले रु ५ करोड ११ लाख १५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। हलेसी बजारमा होटल व्यवसाय गर्दै आएका राईको घरबाट सल्किएको आगोले १३ घरमा क्षति पुग्दा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार आगलागीमा आंशिकरुपमा घर क्षति भएका प्रकाशचन्द्र गिरीको रु १५ लाख, रेगिन्द्र राईको रु एक लाख, गोविन्द राईको रु पाँच लाख, सरनसरी राईको रु पाँच लाख, सरनकुमार राईको रु एक लाख ५० हजार, महानन्द राईको रु एक लाख, कृष्ण राईको रु दुई लाख ५० हजार र कम्पराज राईको रु १५ हजार क्षति भएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।