चितवन– दशैं र तिहारमा यात्रुकाे चापलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्ड २४सै घण्टा खुला गरिने भएको छ । पछिल्लो समयमा मौसममा आएको सुधार र दशैं-तिहारमा यात्रुहरुलाई सहज हाेस भनेर व्यवस्थापिका–संसद् विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनमा भदौ २८ गतेबाट यात्रुवाहक र साना सवारी साधनका लागि सडक २४सै घण्टा खुला गरिने भएको हो।
मालवाहक ट्रकहरुलाई भने राति ८ बजेदेखि १२ बजेसम्म रोकिने बताइएकाे छ । नारायणगढबाट आउने मालवाहक ट्रकलाई भतेरी जंगल इलाकामा, काठमाडाैंबाट आउनेलाई इच्छाकामना ४ लेवाटारमा र पोखराबाट आउनेलाई आँबुखैरेनीमा रोकिने सार्वजनिक सूचना जारी भइसकेकाे छ।
गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द हुँदै अाएकाे थियाे । मुग्लिनबाट आउने गाडीलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भने नारायणगढतर्फबाट जाने गाडीलाई दासढुंगामा बेलुका ६ देखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ।
राजधानी काठमाडौंबाट दशैं-तिहारकाे चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्ने गरेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनाल तीन वर्षअघिको तथ्यांकअनुसार दशैंको बेला यो सडक हुँदै दैनिक १० हजार ६ सय ९१ वटासम्म सवारी साधन आवतजावत गरेका बताउँछन्।
आगामी पुससम्म सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको अहिलेसम्म ५४ प्रतिशत मात्रै काम पूरा भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।