सोलुखुम्बु- विश्वकै खतरनाक विमानस्थलको सूचीमा पर्ने लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थलमा छिनछिनमै मौसम बदली भइरहन्छ । तर, विमानस्थलमा मौसमको अवस्था थाहा पाउने यन्त्र नै छैन।
छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा जोखिमयुक्त सूचीमा राखिएको यो विमानस्थलमा सुरक्षाका लागि आवश्यक पूर्वाधार छैन।
यस्तै, मौसम खराब भई दृष्टि क्षमता कम भएको बेला विमानलाई अवतरण गराउन लाइटिङ सिस्टम आवश्यक हुने भए पनि यो विमानस्थलमा लाइटिङ सिस्टम पनि छैन।
लुक्ला क्षेत्रमा हवाईजहाज प्रवेश गरिसकेपछि मौसम खराब भएमा फर्कन सक्ने भौगोलिक अवस्था नभएकाले केही विकल्प नरहने विमान चालकहरु बताउँछन्।
सगरमाथा क्षेत्रमा पर्यटक घुम्न आउने मौसममा दैनिक सयको हाराहारीमा विमान अवतरण हुने लुक्ला विमानस्थलमा मौसम खराबीका कारण समस्या हुने गरेको छ।
नागरिक उड्डयन प्राधिकरण लुक्लाले समस्या रहेको र त्यस्ता यन्त्र राख्न बारम्बार प्राधिकरणलाई अनुरोध गरे पनि पूरा नभएको बताएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।