मस्को- एक वरिष्ठ रसियाली कुटनीतिज्ञले इरानमा मूल्य वृद्धिविरुद्ध विगत केही दिनदेखि जारी आन्दोलनमा हस्तक्षेपकारी भूमिका नखेल्न अमेरिकालाई आग्रह गरेका छन्।
विहीबार रसियाली उपविदेशमन्त्री सर्गेइ र्याबकोभले राज्य सञ्चालित समाचार संस्था ताससँगको कुराकानीमा अमेरिकाले मूल्य वृद्धिविरुद्ध भएको आन्दोलनलाई चर्काइदिएर इरानलाई नयाँ विवादमा फसाई इरानसँग विश्वका शक्तिशाली राष्ट्रहरूको अगुवाइमा सन् २०१५ मा गरिएको आणविक सम्झौतालाई छाँयामा पार्न चाहेको दाबी गरेका छन्।
अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार एक सार्वजनिक समारोहमा अमेरिकाले इरानसँग दीर्घकालीन सम्झौता गर्न चाहेको भनी दिएको अभिव्यक्तिलाई लिएर रसियाली कुटनीतिज्ञको यस्तो भनाइ आएको हो।
'हामीले अमेरिकालाई इस्लामिक गण्तन्त्र इरानको आन्तरिक मामिलामा हस्तक्षेपकारी भूमिका खेल्ने प्रयास नगर्न सचेत गराउन चाहन्छौं,' र्याबकोभले भने।
चीन, फ्रान्स, जर्मनी, रसिया, बेलायत र अमेरिकाको पहलमा इरानसँग आणविक सम्झौता भएको थियो। आणविक हतियार सम्बन्धी संयुक्त बृहद् कार्ययोजनासहित १० वर्षसम्म युरेनियमको विकासलाई विस्तार नगर्ने सहमति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।