एजेन्सी– बलिउडका किङ खान शाहरुख खान यतिबेला करिअरकै खराब अवस्थाबाट गुज्रिरहेका छन्। उनका पछिल्ला फिल्म ‘फ्यान’, ‘जब हेरी मेट सेजल’ र ‘जिरो’ ले १०० करोडको आँकडा पनि पार गर्न सकेनन्।
शाहरुख खान अहिले अभिनयभन्दा टाढाका किताब पढिरहेका छन् र परिवारसँग समय बिताइरहेका छन्। उनले आफूलाई प्रेरित गर्ने खालको स्क्रिप्ट प्राप्त नभएसम्म कुनै पनि फिल्ममा साइन नगर्ने फैसला नै गरेका छन्।
द्विविधामा शाहरुख
खासमा शाहरुख अहिले द्विविधामा छन्। आफ्ना फिल्म लगातार असफल भएपछि कस्तो फिल्म गर्ने भनेर उनले ठम्याउनै सकेका छैनन्।
शाहरुख रोमान्टिक भूमिकाका लागि अब्बल मानिन्थे। तर पछिल्लो समय रोमान्टिक अवतारमा पनि दर्शकले उनलाई स्वीकार गरेका छैनन्। एकातिर उनको आत्मविश्वास कमजोर भएको छ भने अर्कातिर उनी सुपरस्टारको पहिचानबाट बाहिर निस्कन पनि चाहँदैनन्। त्यसैले उनले नयाँ काम गर्ने साहस नै बटुल्न सकेका छैनन्।
धुम ४ को तयारी!
यतिबेला दुई निर्देशक शाहरुखलाई लिएर फिल्मको तयारी गरिरहेका छन्, जसले शाहरुखको करिअर बचाउन सक्छन्।
आदित्य चोपडा शाहरुखका निकै मिल्ने साथी हुन्। आदित्यको ब्यानर यश राज फिल्मस् शाहरुखको घरेलु ब्यानरसमेत मानिन्छ। यो कम्पनीका लागि शाहरुखले थुप्रै सुपरहिट फिल्म दिएका छन्।
आदित्यले शाहरुखलाई लिएर ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘मोहब्बतें’ र ‘रब ने बना दी जोडी’ जस्ता ब्लकबस्टर फिल्मको निर्देशन गरेका छन्।
समाचार अनुसार शाहरुखलाई लिएर आदित्य ‘धुम ४’ बनाउने प्लान गरिरहेका छन्। यो फिल्ममा शाहरुख नकारात्मक भूमिकामा देखिने छन्। धूम सिरिजमा प्रत्येक समय भिलेन परिवर्तन हुन्छन्। जोन अब्राहम, रितिक रोशन र आमिर खानले यो फिल्मको सिरिजमा काम गरिसकेका छन्।
बलिउडमा धुम सिरिजको ठूलो क्रेज रहेको छ। शाहरुखलाई नेगेटिभ चरित्रमा निकै रुचाइने हुनाले पनि यो फिल्मले शाहरुखको गुम्न लागेको गौरव फर्काउन सक्ने अपेक्षा गरिएको छ।
यस्तै अर्का सफल निर्देशक राजकुमार हिरानी पनि शाहरुखका लागि फिल्म बनाउने तयारीमा छन्। उनी शाहरुखलाई लिएर एक रोमान्टिक फिल्म बनाउन चाहन्छन्। हिरानीले अहिलेसम्म शाहरुखसँग काम गरेका छैनन्।
हिरानीले ‘मुन्नाभाइ एमबिबिएस’ र ‘थ्री इडियट्स’ मा पनि शाहरुखलाई अफर गरेका थिए। तर विविध कारणले यी दुवै फिल्ममा शाहरुखले काम गर्न सकेनन्। अहिले शाहरुखलाई हिट फिल्म जरुरी छ, उनले हिरानीमार्फत पूरा गर्न सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।