चितवन- भरतपुर महानगरपालिकाले तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ। सो बजेटको प्रस्ताव गर्दै महानगरपालिकाको प्रथम नगरसभा शुक्रबारदेखि सुरु हुँदै छ।
परिषद्ले स्थानीय सरकारको संवैधानिक अवधारणाअनुसार नीति तथा कार्यक्रम र कानून निर्माण गर्ने नगरप्रमुख रेनु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले बताए। बजेटले पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाइ छ।
नगरसभाको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ।
प्रेस सल्लाहकार अधिकारीले महानगरभित्र सडक कालोपत्रलाई अभियानका रुपमा सञ्चालन गरिने बताए। शहरी विकास मन्त्रालयमार्फत प्राप्त तीन अर्बको बजेटबाट राप्ती र नारायणी नदीमा तटबन्ध गरी वन्यजन्तु बस्ती पस्न नदिन पर्खालसहितको मेसजाली निर्माण गर्न नगरसभामा प्रस्ताव पेश गरिने जनाइएको छ।
'केन्द्र र प्रदेशसँग सहकार्य गरी महानगरीय रिङरोड र लिङ्क रोडको निर्माण यसै वर्षबाट सुरु गरिनेछ', अधिकारीले भने।
नगरसभामा सिटी हल, चित्रवनमा बन्दै गरेको राष्ट्रियस्तरको रंगशालाको निर्माण कार्यलाई अगाडि बढाउने, नारायणी नदीमा तीन ठाउँमा पुल निर्माण गर्ने, नारायणगढको लायन्सचोकमा भूमिगत पार्किङसहितको व्यावसायिक भवन निर्माण गर्नेलगायतका योजना प्रस्ताव गरिँदै छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।