सुर्खेत– प्रदेश नम्बर ६ को राजधानी जुम्लालाई बनाउनुपर्ने माग गर्दै जुम्लामा प्रदर्शन गरिएको छ। नागरिक समाजको अगुवाइमा जुम्ला सदरमुकाम खलंगामा बिहीबार जुलुस निकालिएको हो।
सरकारले सुर्खेतलाई अस्थायी राजधानी घोषणा गर्न लागेको भन्दै त्यसको विरोधमा जुम्लामा आन्दोलन सुरु गरिएको हो।
जुलुसपछिको कोणसभामा बोल्दै नागरिक समाजका अध्यक्ष राजबहादुर महतले प्रदेश ६ को राजधानीका लागि जुम्ला नै सबैभन्दा उत्तम रहेको बताए। पहिचान र सामर्थ्य दुवैलाई आधार मान्दा यो प्रदेशको ठूलो भूभाग ओगटेको कर्णालीमा नै प्रदेश राजधानी बनाइनुपर्ने उनको भनाइ थियो।
अगुवा अनुप थापाले यो प्रदेशको राजधानी कर्णाली बाहेक अन्यत्र बनाइए कडा आन्दोलन गर्ने चेतावनी दिए। साथै उनले सकेसम्म जुम्लालाई राजधानी बनाइनुपर्ने र जुम्ला नभए पनि कर्णालीका अन्य कुनै जिल्लालाई राजधानी बनाउनुपर्ने माग गरे।
जुम्लावासीले प्रदेशको राजधानी कर्णालीमै तोकिनुपर्ने, प्रशासनिक सुगमता, भौगोलिक र वैज्ञानिक मापदण्ड प्रयोग गर्नुपर्ने, राज्यको मूलधारमा नआउन्जेल कर्णालीलाई साविकको पिछडिएको उत्पीडित क्षेत्र कायम गर्नुपर्ने र भूगोलको अपमान गरी निर्वाचन क्षेत्र बाँडफाँट गरिएकाले सम्मानसहित कर्णालीका ५ जिल्लाको निर्वाचन क्षेत्र दोब्बर गरिनुपर्ने लगायतका माग गरेका छन्।
कर्णालीलाई राजधानी नतोकिँदासम्म आन्दोलन जारी राख्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।