काठमाडौं- नयाँ शक्ति नेपालले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक शक्तिसँग भएको गठबन्धनको प्रयास र तालमेलको तयारीमा लाग्दा चुनावमा हार बेहोरेको निष्कर्ष निकालेको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा तीन दिनसम्म चलेको पार्टीको प्रथम महाधिवेशन आयोजक समितिको बैठकले गठबन्धन र तालमेलमा अनेक प्रकारले सहभागी हुनुका साथै त्यसबाट उत्पन्न भ्रम चिर्न नसक्दा चुनावमा पराजय बेहोरेको निष्कर्ष निकालेको हो।
निर्वाचनमा वाम गठबन्धनसँग मिलेर चुनाव लड्ने तयारी गरेको नयाँ शक्तिले चुनाव चिह्न लगायतमा कुरा नमिलेपछि अन्तिम समयमा लोकतान्त्रिक मोर्चासँग तालमेल गरेको थियो।
यस्तै, बैठकले पार्टीले तर्जुमा गरेको नीतिलाई जनतामा प्रभावकारी रुपमा पुर्याउन नसक्नुका साथै देश र जनताका लागि सकारात्मक उपलब्धि प्राप्त गर्ने उद्देश्यले विभिन्न शक्तिसँग ध्रुवीकृत हुन पुग्दा पनि निर्वाचनमा पराजित भएको उल्लेख गरेको छ।
बैठकले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली एवं पूर्ण समानुपातिक संसदकै एजेन्डालाई पुन: अघि सार्ने निर्णय गरेको छ। नयाँ शक्तिले संविधानप्रति असन्तुष्ट मधेसी, थारु, आदिवासी जनजाति, दलित लगायत विविध समुदायको माग सम्बोधनका लागि संशोधन गर्न सरकार र सम्पूर्ण राजनीतिक दलसँग माग समेत गरेको छ।
नयाँ शक्तिको संघीय परिषदको बैठक आगामी १० गते बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।