काठमाडौं- अध्ययनको लागि अस्ट्रेलिया पठाइदिन्छु भनी विभिन्न प्रलोभन देखाएर ठगी गर्ने एक मलेसियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
ठगीमा परेका नेपालीहरुको उजुरीका आधारमा मलेसियाका ४३ वर्षीय रामादास बस्करादास पक्राउ परेका हुन् । ठगीमा संलग्न तीन विदेशीमध्ये रामादासलाई ठमेलको नर्सिङ चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीसहितका विदेशीहरुले ११ जना नेपाली विद्यार्थीलाई सेमिनारमा सहभागी गराई अध्ययनको लागि अस्ट्रेलिया पठाउने भन्दै पटकपटक गरी जम्मा एक करोड २५ लाख रुपैयाँठगेको प्रहरी अनुसन्धानमा देखिएको छ।
उनीहरुले चावहिलस्थित मेडिसन होटल ट्रेनिङ सेन्टरमा कन्सलटेन्सी तथा विद्यार्थीलाई सहभागी गराएर सेमिनार गरी अस्ट्रेलियामा आफ्नै नाममा रहेको कलेजमा अध्ययन गर्न पठाउने आश्वासन दिने गरेका थिए । अस्ट्रेलिया पुगेपछि विद्यार्थी हप्तामा १ दिन कक्षा लिँदा हुने, हप्तामा ६ दिन अन्य काम गर्दा हुने, कामको पूरै ग्यारेन्टी हुने जस्ता कुरा गरी विधार्थी तथा कन्सल्टेन्सीलाई विश्वावासमा लिएका थिए।
उनलाई अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।