राजविराज– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले वर्तमान सरकार औद्योगिक क्रान्ति र आर्थिक विकासमा फड्को मार्ने गरी क्रियाशील रहेको बताएका छन्।
‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समिति कार्यालय उद्घाटन गर्न बुधबार राजविराज आएका यादवले सरकार विकास र समृद्धिको बाटोमा अघि बढेको बताए।
औद्योगिक क्रान्ति र आर्थिक विकासका लागि भारतको दिल्लीबाट सप्तरी हुँदै सिधै चीनको सीमासम्म जाने राष्ट्रिय राजमार्ग निर्माण गरिने उनले दाबी गरे।
‘सरकारले दिल्लीबाट सप्तरी–गाईघाट–कटारी, ओखलढुङ्गा–खोटाङ हुँदै सिधा चिनको बोर्डरसम्म पुग्ने राष्ट्रिय राजमार्गको परिकल्पना गरेको छ,’ उनले भने, ‘राष्ट्रिय राजमार्ग परिकल्पना साकार हुने बित्तिकै समग्र मधेस र मुलुकमै औद्योगिक विकास एवम् आर्थिक समृद्धिमा कायापलट हुनेछ।’
हरेक कुरामा विरोध गर्ने राजनितिक दलले एकअर्काको विरोध गर्ने भन्दा विकास निर्माणका काममा सरकारलाई सहयोग गर्नुपर्ने उनको धारणा छ। ‘चौतर्फी रुपमा विकास निर्माण कार्यले तिव्रता पाएको छ,’ उनले थपे, ‘विकास निर्माण र देश बनाउने काममा पार्टीगत मानसिकता त्यागौं, हामी सबैसँग सहकार्य गर्न तयार छौं।’
एक दशक अघिसम्म हरेक क्षेत्रमा अगाडि रहेको सप्तरी जिल्लाको अवस्था पछिल्लो समय खस्कँदो अवस्थामा रहेकोमा उनले चिन्ता व्यक्त गरे। स्वास्थ्य र शिक्षा क्षेत्र बिगँ्रदो अवस्थामा रहेको प्रति उनको चिन्ता थियो।
‘भविष्यका कर्णधार मानिएको युवा शक्ति कुलतमा फसेको छ। मानसिक समस्या पनि अहिले वढेको छ,’ मन्त्री यादवले भने, ‘युवा शक्ति नसामा लठ्ठ पर्नु वा मानसिक रुपमा अस्वस्थ हुनु देशकै लागि चिन्ताको विषय हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।