काठमाडौं- जलवायु परिवर्तन, त्यसका प्रभाव र त्यसका असर न्यूनीकरणबारे नेपालले गर्ने भनिएको ‘सगरमाथा डायलग’को पहिलो शृंखला अमेरिकामा हुने भएको छ।
सरकारले यसअघि आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममै उक्त संवाद गर्ने उल्लेख गरे पनि कहिले र कहाँबाट सुरु हुने भन्ने एकिन थिएन।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका अनुसार आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा हुने ‘यूएन क्लाइमेट एक्सन समिट’मा उक्त कार्यक्रमको सुरुवात गरिनेछ।
मन्त्री बस्नेतले संयुक्त अरब इमिरेट्स (यूएई)मा भएको ‘यूएन क्लाइमेट एक्सन समिट–२०१९’को मन्त्रीस्तरीय तयारी बैठकका क्रममा उक्त घोषणा गरेका हुन्।
सगरमाथा संवादमा वातावरणीय परिवर्तन र असरबारे विश्वसमुदायका प्रतिनिधिहरुसँग अन्तर्क्रिया हुनेछ।
जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि हिन्दकुश हिमालयन मुलुकको सामूहिक प्रयास बढाउने उद्देश्यका साथ ‘साइड इभेन्ट’का रुपमा उक्त संवाद गर्न लागिएको बस्नेतले बताए।
*फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।