काठमाडौं– विगत तीन वर्षदेखि साउदीको जेलमा रहेका खैरहनी नगरपालिका कठार–१ चितवनका जलेश्वर चौधरीलाई नेपाल ल्याइँदैछ।
चौधरीका लागि आवश्यक ब्लडमनी बुझाएसँगै चौधरी जेलमुक्त हुने भएका हुन्।
वैदेशिक रोजगारीका सिलसिलामा रहेका जलेश्वर साउदी अरबस्थित अल क्वारायत अल जउफ कम्पनीमा हेभी ट्रक चालकका रुपमा कार्यरत थिए।
जलेश्वरले चलाएको ए ११०८१३० प्लेट नम्बरको ट्रकमा साउदी नागरिकको कारले ठक्कर दिएपछि घट्नास्थलमै साउदी नागरिकको मृत्यु भएको थियो।
हेभी ट्रक चालकका रुपमा कार्यरत जलेश्वरसँग सवारी चालक अनुमति पत्र (लाइसन्स) नभएका कारण साउदीको अदालतले जलेश्वरकै शतप्रतिशत गल्ती भएको ठहर गरेको थियो।
जलेश्वरको गल्ती ठहरसँगै अदालतले ३ लाख साउदी रियाल क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।
यद्यपि, मृतकका परिवारका सदस्यले हकदाबी स्वरुप पाउनुपर्ने रकम मिनाहा गरिदिएका थिए। तर, मृतक व्यक्तिका नाबालक छोराछोरी रहेकाले १ लाख ४८ हजार ९ सय ५८ साउदी रियाल (नेपाली रुपैयाँ ४२ लाख ६० हजार १ सय ९८ ) मिनाहा नहुने फैसला सुनाएको थियो।
'जलेश्वर चौधरी बचाऊ' अभियानमार्फत् आवश्यक रकम संकलन गरेर सामाजिक स्वयम्सेवक नेपालका अभियन्ता सागर लामिछानेले बुधबार जलेश्वरका बुबा सुकराम महत्तोलाई जलेश्वरका लागि आवश्यक रकम हस्तान्तरण गरेसँगै जलेश्वर चौधरी जेलमुक्त भएर नेपाल आउने भएका हुन्।
चितवनका सामाजिक अभियानता सागर लामिछानेले उक्त अभियान सञ्चालन गरेका हुन्।
यसै अभियानमार्फत विभिन्न दातृ निकाय, संघसस्था तथा व्यक्तिहरूबाट रकम संकलन गरी आवश्यक रकम (३८ लाख १५ हजार ) को चेक बुधबार पत्रकार सम्मेलन गरी जेलश्वरका बुबा सुकराम महत्तोलाई हस्तान्तरण गरिसकेका छन्।
बाँकी ४ लाख ४५ हजार ९ सय ५८ रुपैयाँ रकम गैह्रआवासीय नेपाली संघ (एनआरएन) साउदीले सहयोग गर्ने भएको छ।
सो रकम परराष्ट्र मन्त्रालयमार्फत साउदीस्थित अदालतमा पेस गरेसँगै केही दिनमै साउदीबाट जलेश्वर चौधरी छुट्ने भएका छन्।
रकम हस्तान्तरण गर्दै साउदीस्थित बिना गल्ती जेलजीवन बिताइरहेका जलेश्वर जस्ता थुप्रै युवालाई सरकारले पनि सहयोग गर्नुपर्ने अभियान सञ्चालक लामिछानेले बताए।
उनले भने, ‘एक निर्दोष नेपाली २ वर्षदेखि साउदीमा जेलजीवन बिताइरहेका छन्, जसको पारिवारिक अवस्था निकै दयनीय छ। देख्दा भित्रैदेखि सहयोगको भावना पलायो, त्यसैले ब्लडमनी संकलनका लागि अभियान सञ्चालन गरेँ।’
सामान्य बोलचाल गर्न समेत नसक्ने जलेश्वरका बुबा छोरा नेपाल आउने भएपछि खुसी भएका छन्।
‘जेलमा भएको छोरो, अब नेपाल आउने भएको छ मलाई धेरै खुसी लागेको छ,’ जलेश्वरका बुबा भक्कानिए।
छोरालाई साउदीस्थित जेलबाट छुटाएर नेपालसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई उनले धन्यवाद दिए।
२४ वर्षीय जलेश्वर चौधरी सुकुम्बासी परिवारका सदस्य हुन्।
पारिवारिक अवस्था निकै दयनिय रहेका चौधरी ४ वर्ष अगाडि जिआर म्यानपावर कम्पनीमार्फत पुगेका थिए।
साउदीस्थित हेभी ट्रक चालकका रुपमा कार्यरत जलेश्वरको लाइसन्स लामो समयसम्म पनि कम्पनीले बनाउन आनाकानी गरेपछि उनले नेपाल स्थित म्यानपावर कम्पनीलाई खबर गरेका थिए।
तर, म्यानपावर कम्पनीको बेवास्ताका कारण उनी बिनालाइसेन्स ट्रक हाँक्न बाध्य थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।