काठमाडौं- आगामी २५ वर्ष अर्थात् वि.सं २१०० भित्र कृषिमा आबद्ध जनशक्ति आधा घट्ने देखिएको छ। सरकारले अघिल्लो वर्ष असोज २८ गते गठन गरेको ‘जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना तर्जुमा कार्यदल’ले गरेको अध्ययनले यस्तो देखाएको हो।
हाल ६४ दशमलव ७९ प्रतिशत रहेको कृषिमा आबद्ध जनशक्ति वि.सं २१०० मा ३२ दशमलव १५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो।
आधार वर्ष २०७४/७५ बाट २०९९-२१०० बीच २५ वर्षको जनशक्ति प्रक्षेपण गर्दा पेसागत रूपमा संख्यात्मक तथा संरचनात्मक रूपमा निकै परिवर्तन हुने देखिएको छ।
संरचनात्मक परिवर्तन हेर्दा हाल कृषि क्षेत्रमा अधिक संख्यामा रहेको जनशक्ति क्रमिक रुपमा घट्दै जाने तर उद्योग र सेवा क्षेत्रहरुमा जनशक्ति क्रमिक रुपमा बढ्दै जाने देखिन्छ।

प्रक्षेपणको आधार वर्षका रूपमा जनशक्तिको संरचनाअनुसार कृषि क्षेत्रमा ६४ दशलमव ७९ प्रतिशत, उद्योग क्षेत्रमा १३ दशलमव ८१ प्रतिशत र सेवा क्षेत्रमा २१ दशलमव ४० प्रतिशत रहेको छ। भने अन्तिम वर्ष २०९९–२१०० मा सो संरचनामा परिवर्तन भई कृषि क्षेत्रमा ३२ दशमलव १५ प्रतिशत, उद्योग क्षेत्रमा २४ दशमलव १६ प्रतिशत र सेवा क्षेत्रमा ४३ दशमलव ६९ प्रतिशत पुग्ने अनुमान गरिएको छ।
हाल अनौपचारिक रुपमा कृषि क्षेत्रमा आधाभन्दा बढी जनशक्ति आबद्ध छ। तर, विस्तारै कृषिमा आवद्ध जनशक्ति अन्य क्षेत्रतर्फ प्रतिस्थापन हुने र अढाई दशक भित्रमा त्यो संख्या अहिलेको भन्दा आधा पुग्ने उक्त अध्ययनले देखाएको छ।
नेपालमा मानव श्रोतका विषयमा यसअघि कुनै आधिकारिक अध्ययन भएको थिएन। अहिले कति जनशक्ति उपलब्ध छ? आवश्यकता अनुसार जनशक्ति उपलब्ध छ/छैन? र आगामी दिनमा बजारका लागि कस्ता जनशक्ति आवश्यक छन् भनेर अध्ययन गर्न सरकारले शिक्षामन्त्रीको अध्यक्षतामा मानव संसाधन निर्देशक समिति गठन गरेको थियो। सो समितिले ८ सदस्यीय मानव संसाधन प्रक्षेपण कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले देशमा रहेको क्षेत्रगत जनशक्ति र आगामी दिनमा आवश्यक जनशक्तिको तुलनात्मक अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
मानव संशाधनसम्बन्धी अध्ययन गर्न गठन भएको मानव संशाधन (जनशक्ति) प्रक्षेपण कार्यदलका सदस्य डा. रुद्र सुवालका अनुसार अर्थतन्त्रका विभिन्न आयामलाई १५ वटा क्षेत्रमा विभाजन गरी फरकफरक क्षेत्रमा शीर्षकगत अध्ययन गरिएको छ।
उल्लेखित पेशामा रहेर जनशक्तिको वर्गीकरण गर्दा सुरक्षा, सशस्त्र सैनिक बल, व्यवस्थापक, पेशाविद्, प्राविधिक तथा सहायक पेशाविद्, सहायक कर्मचारी, सेवा तथा वस्तु विक्री गर्ने कामदार, शिल्पकला तथा कालीगढीसम्बन्धी व्यापार गर्ने कामदार, यन्त्र तथा मेसिन अपरेटर, प्राथमिक पेसाका कामदारलगायतलाई समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।