काठमाडौं- स्थानीय तह कर्मचारी युनियन, नेपालले लामो समयदेखि कार्यरत स्थानीय तहका अस्थायी कर्मचारीलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिएको छ।
युनियनको हालै सम्पन्न प्रथम राष्ट्रिय भेलाले जारी गरेको १४ बुँदे काठमाडौं घोषणापत्रमा वर्षौंदेखि स्थानीय तहमा कार्यरत अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिने उल्लेख गरिएको हो।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी युनियनका अध्यक्ष नुरबहादुर साउदले आन्तरिक विशेष प्रतियोगिताको माध्यमबाट अस्थायी कर्मचारीलाई स्थायी गराउन र त्यसमा नपर्ने कर्मचारीहरुलाई जीवन निर्वाहका लागि आवश्यक सुविधासहित विदाई गर्न पनि सरकारलाई दवाव दिने निर्णय गरिएको बताए।
घोषणापत्रमा स्थानीय तहका कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवाको उचित व्यवस्थापन गर्न तत्काल स्थानीय सेवा ऐन जारी गर्न पनि सरकारसँग माग गरिएको छ।
त्यसैगरी कर्मचारीको हक, हितका लागि सबै स्थानीय तहमा स्थानीय तह कर्मचारी युनियनको निर्वाचन गराउन पनि सरकारसँग माग गरिएको युनियनका अध्यक्ष साउदले बताए।
*प्रतीकात्मक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।