काठमाडौं- ठमेलमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ।
पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेले बुधबार पर्यटन सूचना केन्द्र ठमेल र टुरिष्ट पुलिस मोबाइल एपको उद्घाटन गरेका थिए।
सो अवसरमा महानिर्देशक घिमिरेले सूचना केन्द्र निर्माण हुनु प्रशंसनीय कार्य भएको बताए। पर्यटक प्रहरीले पर्यटकहरुलाई भ्रमणको क्रममा सहजीकरण गर्दै आएकोमा यस सेवालाई थप गुणस्तरीय बनाउन सूचना केन्द्र प्रभावकारी हुने महानिर्देशक घिमिरेले बताए।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले जनचेतनाको स्तर राम्रो भएको ठमेल क्षेत्रलाई अब प्रविधि मार्फत सुरक्षा प्रदान गरी उदाहरणीय कामको सुरुवात गर्नुपर्ने बताए।
सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्ने भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा दिन सके सभ्यताको विकास हुने उनले बताए।
साथै ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन प्रहरीकोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुरिष्ट पुलिस मोबाइल एप पर्यटन सम्बन्धी जानकारी एवं पर्यटकहरुको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको हो। उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।