जनकपुर- संचार उद्यमी अरुण सिंघानिया हत्यामा संलग्न भएको आरोप लागेका संजय साहसहित २ जनालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत धनुषाका न्यायधीश राधाकृष्ण उप्रेतीको इजलासले सो मुद्दाको अन्तिम सुनवाई गर्दै साहसहित २ जनालाई जन्मकैदको फैसला गरेको हो।
अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ।
लामाले संजयले भनेपछि आफूले सिंहानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए।
साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन्।
यसैगरी साहको नजिकका नातेदार भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष जेल सजाय र मुकेश चौधरीलाई नगद जरिवाना गरिएको हो।
घटनामा संलग्न भनिएपनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दीपेन्द्र कुसियतलाई मुलतबीमा राखिएको छ।
उद्यमी सिंघानियाका छोरा राहुल सिंघानियाको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा प्रतिवादी संजय साहसहित ११ जना रहेका थिए।
मुद्दाको सुनवाईको क्रममा वादीको तर्फबाट सरकार वकिल, विपिन झा, हेम कार्कीले बहस गरेका थिए।
राहुल सिंघानियाको जाहेरीले वादी नेपाल सरकार रहेको सो मुद्दामा संजय कुमार साह, चनरदीप यादव, मुकेश चौधरी, ओम यादव, योगेन्द्र सहनी, अंशी राइन, दीपेन्द्र कुसियत यादव, रामविनोद यादव, पवन लामा, मनक लामा र एकजना नाम खुल्न नसकेको प्रतिवादी थिए।
२०६६ फाल्गुन १७ गते फागु पूर्णिमाको दिन उद्योगी नबल मुरारकाको घरमा आयोजित एक धार्मिक कार्यक्रममा सहभागी भई फिर्ता जाँदै गरेको बेला टाउकोमा गोली प्रहार गरी सिंघानियाको हत्या भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।