प्युठान- लोपोन्मुख वन्यजन्तुहरुको संरक्षणका लागि प्युठानमा पहिलोपटक जंगलमै आधुनिक क्यामेरा जडान गरी अनुसन्धान थालिएको छ।
जिल्लाको सबैभन्दा अग्लो कोठीभीर आसपासका वन क्षेत्रमा गत जेठ २१ देखि १४ वटा ट्राप क्यामेरा जडान गरी वन्यजन्तुको अनुसन्धान सुरु गरिएको हो। ४ अनुसन्धानकर्तासहित ७ जनाको टोली वन्यजन्तुको अनुसन्धानका लागि खटिएको छ।
जिल्ला वन कार्यालय प्युठानले लोपोन्मुख वन्यजन्तु संरक्षण गर्न नौबहिनी-१ स्याउ लिवाङस्थित कोठी लेक क्षेत्रमा वन्यजन्तु संरक्षणकर्मीहरुको टोलीले अनुसन्धान कार्य गरिरहेको बताएको छ।
स्थानीयका अनुसार कस्तुरी, हाब्रे, थारलगायतका वन्यजन्तु वनमा पाइने भनिएपनि, वन्यजन्तुहरुको अनुसन्धान हुन नसक्दा उक्त क्षेत्रमा के-कस्ता वन्यजन्तु छन्, एकिन हुन नसकेको वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिवी खनालले बताए।
'जंगलमै क्यामेरा जडान गरी वन्यजन्तुको अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, 'अनुसन्धान प्रक्रीया अन्तिम चरणमा पुगेको छ।’ प्रस्तावित गौमुखी संरक्षित वनक्षेत्र अन्तर्गत पर्ने यो भेगमा अहिलेसम्म घोरल, डाँफे, राते, गिद्ध, कस्तुरीलगायतका वन्यजन्तुहरु भेटिएको खनालले जानकारी दिए।
आधुनिक प्रविधियुक्त क्यामरा ट्रापिङको प्रयोग गरी अनुसन्धान गर्न लागेको अनुसन्धान टोलीको नेतृत्व गर्नु भएका वन्यजन्तु अनुसन्धानकर्ता चिरन्जिवी खनालले बताए। जैविक विविधतायुक्त यो क्षेत्र संरक्षित र लोपोन्मुख वन्यजन्तु र जडीबुटी रहेको स्थानसमेत हो।
बाग्लुङको ढोरपाटन शिकार आरक्षसँग जोडिएको यो वनक्षेत्रमा कस्तुरी, मृग, चरीबाघ, चितुवा, रेड्पाण्डा, घोरल, गिद्ध, कालिज जस्ता दुर्लभ एवं लोपोन्मुख जिवजन्तु तथा चराचुरुङ्लिे बासस्थानको रुपमा प्रयोग गरेको बताइएको छ। गौमुखी संरक्षित वन अन्तर्गतको यो क्षेत्र रोल्पा बाग्लुङसँग सिमाना जोडीएको छ। वनमा मानवीय चाप धेरै रहेको र वनमा वन्यजन्तुको चाप बढ्न पनि थालेको अनुसन्धानकर्ता खनालले बताए।
जिल्लाको सबैभन्दा उचाइमा रहेको कोठी लेक ३ हजार ६ सय मिटरभन्दा उचाइमा अवस्थित छ। वन्यजन्तुहरु संख्याको नतिजा आउन केही समय लाग्ने अनुसन्धानकर्ता खनालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।