पर्वत– विहादी गाउँपालिकाका किसान यतिबेला बाँदर आतङ्कबाट हैरान बनेका छन्।
किसानले खेतबारीमा लगाएको मकैलगायत अन्न बाली खानाका साथै तरकारी र फलफूलमा पुर्याएको क्षतिले किसान निराश बनेका छन्।
विहादी – ४ लिङसियाकी रन्नता पाठकले भने, 'बाँदरले खेतबारीमा लगाइएको खेतीबाली सखाप पार्यो पार्यो, त्यसमाथि घरघरमा छिरेर बच्चा र बूढाबूढीमाथि समेत आक्रमण गरेर गाउँमा बस्नै नसकिने बनायो।'
बाँदरकै कारण पाँच रोपनी जमिनमा लगाएको तरकारीका साथै फलफूल खेतीसमेत गर्न छाड्नुपरेको बताउँदै पाठकले खाना र भाँडासमेत वानरले बोकेर लैजान थालेकाले बसाइँसराइ सरेर जाने क्रम बढेको जानकारी दिए।
सोही गाउँपालिका ५ उरामका एकनारायण काफ्लेले बाँदरले तीन रोपनीमा लगाइएको तरकारी खेती र २२ रोपनी जमीनमा लगाइएको मकै खाएर सखाप पारेपछि अहिले सबै बाँझो बनेको बताए।
गाउँपालिका अध्यक्ष कमलप्रसाद भुसालले गाउँपालिकाका ३३ प्रतिशत मकै वानरले खाइसकेको जानकारी दिँदै यसलाई मार्न कानूनी रुपमा बन्देज भए पनि अधिकांश किसानबाट सोही उपाय अपनाएर भए पनि समस्याको समाधान गर्नुपर्ने माग आउने गरेको बताए।
गाउँपालिका परिषदबाट बाँदर नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको बताउँदै कुनै त्यस्तो खालको प्रविधि भएका खण्डमा नियन्त्रणका लागि प्रयोग गर्ने योजनामा रहेको अध्यक्ष भुसालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।