काठमाडौं– २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरी संरचना पुनर्निर्माणमा खटिने महिलाको संख्या ५० छ। जहाँ पुरुष कामदार एक दर्जन मात्रै छन्।
निर्माण कार्यमा तुलनात्मक रुपमा महिलाभन्दा पुरुषको संख्या बढी हुने भए तापनि रानीपोखरी पुनर्निर्माणमा भने फर दृश्य देखिएको हो। पुनर्निर्माणका लागि भक्तपुरबाट कामदारहरु ल्याइएको उपभोक्ता समितिका अध्यक्ष कृष्ण कुमार दुमरुले बताए। पोखरीको परम्परागत मौलिक शैलीलाई कायम राख्दै पानी जम्ने गरी पुनर्निर्माण गर्न भक्तपुरबाट दक्ष कामदार ल्याइएको उनको भनाइ छ।

‘भक्तपुरका विभिन्न पोखरी पुनर्निर्माणको अनुभव उनीहरुसँग छ,' अध्यक्ष दुमरुले भने।
यी महिला दैनिक ज्यालादरमा खटिएका हुन्। उनीहरुले एक दिनको एक हजार ज्याला पाउँछन्।
भक्तपुर सूर्यविनायककी ४४ वर्षीया कान्छीमाया धौभन्नार भन्छिन्, ‘काम कठिन भए पनि ज्यालादर राम्रो छ।'

अर्की इटाछेँ भक्तपुरकी ३४ वर्षीया गीता वाती पनि रानीपोखरी पुनर्निर्माणको काम गर्न पाउँदा निकै खुसी छिन्। यसअघि उनले भक्तपुरको भाजु पोखरी पुनर्निर्माणको काम गरिसकेकी छन्। 'मान्छेहरु यो भन्दा कठिन काम गर्न विदेश जान्छन्,' उनले भनिन्, 'हामी आफ्नै देशमा पाखुरी बजाउँछौं।'

रानीपोखरी पुनर्निर्माणमा पुरुषहरु पर्खाल लगाउने काम गर्छन् भने महिलाहरुले कालोमाटो मुछ्ने, बालुवा चाल्ने, इँटा बोक्ने, बालुवा तथा सिमेन्ट मुछ्ने लगायतका काम गर्छन्।
भूकम्पले क्षति भएको ४ वर्ष बितिसक्दा पनि गति लिन नसकेको रानीपोखरी पुननिर्माणको काम अहिले धमाधम भइरहेको छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।