राजविराज- सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति ५ घरमा चोरी भएको छ। वडा नम्बर २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो।
मुलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद ४० हजार रुपैयाँ, चाँदीको ८ तोलाको पाउजु र ५ तोलाको ब्रासलेट, मोबाइल र टर्च चोरी भएको छ। यसैगरी कैलु चौधरीको घरबाट नगद ५ हजार रुपैयाँका साथै कानमा लगाएको आधा तोला सुनको रिङ लुछेर लगेको चौधरीले बताइन्। जङ्गल राम, झमेली सदाको एक/एक थान मोबाइल र सुनिल चौधरीको कपडा र नगद ५ हजार रुपैयाँ लगेको पीडितले बताएका छन्।
चौपायाको व्यापार गर्न भनेर ऋण लिएको पैसा चोरी हुँदा किस्ता तिर्न कठिनाइ हुने परमेश्वर रामले दुखेसो पोखे। केही दिनयता यस क्षेत्रमा चोरीको घटनामा वृद्धि भएको छ। एकै रातमा पाँच घरमा लुटपाट र चोरी भएपछि स्थानीयवासी त्रसित भएका छन्।
चोरको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले बताए। रासस/प्रतिकात्मक तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।