जुम्ला- जुम्लाका ३ विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ। किर्डाक नेपाल जुम्लाको सहजीकरण, प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा स्थानीय सरकारको आयोजनामा ३ विद्यालयलाई बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो।
हिमा गाउँपालिकाको भैरव आधारभूत विद्यालय जोडिवाडा, सिञ्जा गाउँपालिकाको जाँच र धाँपागाउँमा रहेको विद्यालयलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ। ८० घरधुरीको जोगिवाडा गाउँका ९९ बालबालिका विद्यालय भर्ना भएपछि शनिबार उक्त गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको हो।
उक्त गाउँका सबै बालबालिका विद्यालय पहुँचमा पुगेका छन्। विद्यालय क्षेत्र बाहिरका बाबालिकालाई विद्यालयको पहुँचमा ल्याइएका कारण विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमहबहादुर शाहीले बताए।
किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेको बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनका लागि घरधुरी सर्वेक्षण, विद्यार्थी र्याली, विद्यार्थी खोज अभियान, अभिभावक र वडा बैठक, घरदैलो अभियान, अभिभावक परामर्श कार्यक्रम, विद्यालयमा मैत्रीपूर्ण संरचना निर्माण, शौचालय, खानेपानी, घेराबार र गाउँपालिकाको अनुगमनलगायत विभिन्न सूचक पूरा गरेर जोगिवाडा, जाँच र धाँपागाउँमा रहेका बालबालिकालाई शतप्रतिशत विद्यालय हाताभित्र रहेको सुनिश्चित भएका कारण मुक्त समुदाय घोषणा गरिएको हो।
घोषणा कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले सिङ्गो गाउँपालिकाभरिका विद्यालयलाई विद्यालय बाहिर बालबालिका नरहेको घोषणा गरिने बताए। भैरव आधारभूत विद्यालयबाट अभियान सुरु भएको अवगत गराउँदै उनले गुणस्तरीय शिक्षाका बारेमा शिक्षक र अभिभावक गम्भीर हुनुपर्नेमा जोड दिए। शिक्षा पाउने अधिकार बालबालिकालाई प्रत्याभूत गर्न सबै निकाय चनाखो हुनुपर्ने उनको भनाइ थियो। घोषणा गरेर मात्रै नहुने भन्दै उनले पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने सुझाव दिए।
भैरव आधारभूत विद्यालयका प्रधानाध्यापक लालनाथ योगीका अनुसार सो क्षेत्रका शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेका छन्। आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्लान इन्टरनेसनल नेपाल र किर्डाक नेपालले सहयोग गरेका कारण सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको उनले जानकारी दिए। हिमा गाउँपालिकामै पहिलोपटक विद्यालयले नमूनाको काम गर्न पाएकोमा उनले खुसी व्यक्त गरे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।